१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कपिलवस्तुमा एक सय ५३ जनाको धरौटी जफत



मायादेवी अनलाइन, तौलिहवा, ४ पुस ।
प्रतिनिधि र प्रदेश सभामा उठेका कपिलवस्तुका १ सय ५३ जना उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन ऐन अनुसार कुल खसेको मध्ये सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान छ । प्रतिनिधि र प्रदेश सभा गरी बिजयी भएका नौ उम्मेदवार सहित २८ जनाले मात्र जमानत जोगाएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभा तर्फ ४६ र प्रदेश सभा तर्फ १ सय ७ उम्मेदवारले आफनो जमानत समेत बचाउन नसकेको निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले जानकारी दिए । प्रनिनिधि सभाका ८ र प्रदेश सभाका २० जनाले जमानत जोगाउन सफल भएका छन् ।
क्षेत्र नम्बर १ मा प्रतिनिधि सभामा उम्मेदवार बनेका १७ मध्ये ३ जनको मात्र जमानत बचेको छ । नयाँ शक्ति, राजपा नेपाल, राजमो, लोकतान्त्रिक जनता कांग्रेस, नेपाल जनता पार्टी, युवा किशान लयातका पार्टी सहीत स्वतन्त्र गरी १४ जनाको धरौटी जफत भएको छ । क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फ उम्मेदवार बनेका १५ मध्ये २ जनाको मात्र जमानत बचेको छ । राजपा नेपाल, संघीय समाजबादी फोरम, राजमो, नयाँ शक्ति नेपाल लगायतका दल र स्वतन्त्र गरी १३ जनको जमानत जतफ भएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा तर्फ २२ जना उम्मेदवार मध्ये ३ जनाले मात्र धरौटी जोगिएको छ । बहुजन शक्ति पार्टी, राप्रपा, राजमो लगायतका दल र स्वतन्त्र गरी १९ जनाको धरौटी जफत भएको छ ।
त्यसैगरी क्षेत्र नम्बर १ को (१) मा कांग्रेस र बाम गठबन्धनका उम्मेदवार १३ उम्मेदवार तथा सोही क्षेत्रको २ नम्बरमा बिजयी बनेको संघिय समाजबादी फोरम, राजपा नेपाल, बामगठबन्धन, स्वतन्त्र उम्मेदवार अर्साउद्दीन मुसलमान बाहेक २४ जनाको जमानत जतफ भएको छ । यस्तै क्षेत्र नम्बर २ को (१) मा बाम गठबन्धन र कांग्रेस बाहेक १७ जना तथा २ को (२) मा बाम गठबन्धन, कांग्रेस र स्वतन्त्र उम्मेदवार राजु प्रसाद अर्याल बाहेकले धरौटी जोगाउन सकेनन् ।
यस्तै क्षेत्र नम्बर ३ को (१) मा बाम गठबन्धन, राजपा र कांग्रेस, फोरमका उम्मेदवार बाहेक २० उम्मेदवार तथा ३ को (२) मा कांग्रेस, बाम, फोरम, राजपा नेपाल र स्वतन्त्र बाहेक १८ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले बताए । निर्वाचनमा प्रतिनिधि र प्रदेश सभामा गरी कुल १ सय ८१ जनाले उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  ४ : १७ बजे