१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दाङ मह उत्पादनमा वृद्धि



दाङ, ४ पुस (रासस) ।
जिल्लामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । नेपाल माहुरी पालन महासंघ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष एकसय टन बढी मह उत्पादन भएको छ । चरन व्यवस्थित गरेका कारण मह उत्पादनमा वृद्धि भएको हो ।

महासंघका अध्यक्ष श्रेष्ठ यस वर्ष कृषकले दुई तीनपटकसम्म मह काढेको बताउनुहुन्छ । गत वर्ष अधिकांश कृषकले एकपटक मात्र मह निकालेका थिए । जिल्लामा यस वर्ष करिब ३२० टन मह उत्पादन भएको श्रेष्ठले बताउनुभयो । गत वर्ष २२० टन मह उत्पादन भएको थियो ।

जिल्लामा १५ हजार माहुरीको घार रहेको नेपाल माहुरी पालन महासंघ दाङले जनाएको छ भने ६५० माहुरी पालक किसान रहेका छन् । जिल्लामा उत्पादनको करिब २० प्रतिशत मात्र खपत हुन्छ । जिल्लाबाट मह काठमाडौँ, पोखरा, इटहरी, बुटवल, स्याङ्जा, पाल्पा, नेपालगञ्जलगायत शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउनुहुन्छ ।

अहिले जिल्लामा प्रशोधित मह प्रतिकिलो रु ४०० र प्रशोधन नगरिएको मह रु ३०० देखि रु ३५० सम्ममा बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  ११ : २८ बजे