२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

देशलाई अब आर्थिक समृद्धि तर्फ लगौँ ः मन्त्री केसी



 

दिपक अनुरागी, कपिलवस्तु, ५ पुस ।

युवा तथा खेलकुद मन्त्री राजन केसीले लामो समयको राजनीतिक आन्दोलनले पूर्णता पाएकोले अब देशलाई तीव्र आर्थिक समृद्धि तर्फ लैजानुपर्नेमा जोड दिनुभएको छ । नवौँ कपिलवस्तु महोत्सवको आज जीतपुर चारनम्बरमा समापन गर्दै मन्त्री केसीले राणा, राजा र पञ्चायतलाई विकास विरोधीको रुपमा अब चित्रण गरेर मात्र नपुग्ने जिकिर गर्नुभयो । अहिले सम्म अरुलाई दोष थुपार्ने मात्र गरिएकोले अब काम गरेर देखाउनुपर्ने बेला आएको उहाले बताउनुभयो ।

देशको कुल जनसंख्याको चालिस प्रतिशत क्षेत्र युवापिढीले मात्र ओगटेको भन्दै अब स्वदेशमै रोजगारी सिर्जना गरि देशलाई समृद्ध पार्नुपर्ने उहाले औल्याउनुभयो ।

निकै संक्षिप्त मन्तव्य राख्नुभएका मन्त्री केसीले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने भनाई राख्नुभयो । खेलकुद क्षेत्रले स्वस्थ्य जनशक्ति उत्पादन, शारीरिक स्वस्थता प्रदान र देशको पहिचान स्थापित गर्न पुलको रुपमा काम गर्ने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेसका नेता समेत रहनुभएका मन्त्री केसी अहिलेको राजनीतिक विषयमा केही बोल्न चाहनु भएन । यद्यपि मन्तव्यको अन्तिम चरणमा बोल्दै उहाले कतिपय राजनीतिक दलले दोस्रो संविधानसभाको चुनावमा पराजीत भोगेपछि धाँधलीको आरोप लगाएको भएपनि कांग्रेसले जनमतलाई स्विकार गरेको दाबी गर्नुभयो । मौसम र जनमत एकैसाथ नरहने भन्दै जनमतको ख्याल गर्न उहाँले आग्रह गर्नुभएको छ ।

यसैविच मन्त्री केसीले कपिलवस्तु संसारले चिन्ने पवित्र भुमि भएको बताउनुभएको छ । बुद्धको जन्मभूमि कपिलवस्तु विकास पछाडी रहेको उल्लेख गर्दै उहाले जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । यहाँ बुद्धरंगशालालाई जिल्ला स्तरको खेलकुद स्टडियम बनाउन आफुले सक्दो प्रयास गर्ने उहाले बताउनुभएको छ । सयौँ युवाहरुको विचमा हानले उद्घोष गर्दै अबको एक हप्ता भित्रमा स्टडियम बनाउने गरि डिपिआर गराएर फाइल मन्त्रालयमा ल्याउनका लागि आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १० : ५९ बजे