१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024

‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्दै बाटो निर्माणमा ताते रमवादहका स्थानीय



सीताराम चौधरी, चन्द्रौटा, १२ पुस ।
गाउँसम्म पुग्ने राम्रो बाटो नहुँदा वर्षौंदेखि सास्ती बेहोर्दै आएका कपिलवस्तु शिवराज ९ का बासिन्दा यतिबेला जनश्रमदानमा जुटेका छन् ।
आफ्नो गाउँ आफैं बनाऔं भन्ने नारालाई साकार पार्न स्थानीयहरु गाउँसम्म पुग्ने बाटो निर्माणका लागि जनश्रमदानमा जुटेका हुन् । गाउँसम्म पुग्न सुरही खोला तरेर जानुपर्ने बाध्यता झेल्दै आएका शिवराज ९, रमवादहका बासिन्दा अहिले खोलाको बगर हुँदै गाउँसम्म पुग्ने कच्ची मोटर बाटो निर्माण गर्न लागेको वडाध्यक्ष चुरबहादुर खडकाले बताए । उमरी गाउँको पश्चिम सुरही खोलाको बगरमा ६ मिटर चौडा बाटोमा माटो पटान गर्न त्यस भेगका बासिन्दा संगठित भएको खडकाले बताए । त्यहाँका महिला, पुरुष, केटाकेटी सबै आफ्नो गाउँसम्म पुग्ने बाटो निर्माण गर्न जनश्रमदान सक्रिय छन् ।
खोलामा पुल नहुँदा वर्षौंदेखि त्यस भेगका बासिन्दा निकै सास्ती भोग्दै आएका छन् । तर पुल निर्माणमा अहिलेसम्म कसैको ध्यान गएको छैन । तर अहिले त्यहाँका बासिन्दा वडाध्यक्षको अगुवाईमा बाटो निर्माण गर्न जनश्रमदानमा सक्रियता देखाएका छन् । रमवादहसम्म पुग्न उमरीदेखि करीब ५ किलामिटर पश्चिम जंगलको गोरेटो बाटो हुँदै सुरही खोला तरेर गाउँ पुग्नुपर्ने बाध्यता छ । स्थानीय निकायबाट सो बाटाको लागि बजेट छुट्टाइएको छैन । तर गाउँलेले सहज तरिकाले गाउँसम्म पुग्न जनश्रमदानमा बाटो निर्माणमा सक्रियता बढाएका हुन् ।
नगरपालिकामार्फत वडा नं. ९ को वडा कार्यालयबाट गाउँका विभिन्न बाटाहरुको स्तरोन्नतिका लागि बजेट छुट्टाइएको छ । यस आर्थिक वर्षको असारभित्रै सक्नुपर्ने प्रावधानअनुसार त्यहाँका बासिन्दा बजेटभन्दा बढी जनश्रमदान गरी बाटो निर्माणमा जुटेका छन् । वडाध्यक्षका अनुसार रमवादहको गाउँको भित्रीबाटोका लागि २ लाख बजेट छुट्टाएको छ । तर समुदायले ३ लाख बढीको जनश्रमदानसहित ५लाख बढीको लागतमा बाटो निर्माण कार्यमा लागेका छन् –खडकाको दाबी छ । अहिले पनि गाउँलेहरु बाटोमा माटो पटानपछि मिस्कट बिच्छाउने काममा जुटेका छन् खडकाले भने ।
यता विजगौरीका बासिन्दाले आफ्नो गाउँको बाटो निर्माण कार्य सम्पन्न गरिसकेको वडाध्यक्ष खडकाले बताएका छन् । विजगौरीमा पनि बाटो स्तरोन्नतिका लागि २ लाख बजेट परेपनि त्यहाँका बासिन्दाको सक्रियतामा ५ लाख बढीको काम भएको उनले बताए । अहिले वडा नं. ९ को गाउँ गाउँमा बाटो निर्माण तथा मर्मत कार्यमा स्थानीय जुटेको वडाध्यक्षको भनाई छ ।

 

प्रकाशित मिति : १२ पुस २०७४ बुधबार ००:००  १२ : ४७ बजे