२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

हिमपातद्वारा रक्तदान, ५३ ले रगत दान गरे ।



सीताराम चौधरी, चन्द्रौटा, माघ ।
“रक्तदान जीवनदान” भन्ने मूल नारासहित कपिलवस्तुको चन्द्रौटामा आयोजित रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । शिवराज नगरपालिका ५, चन्द्रौटास्थित हिमपात कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन् । रगतको अभावमा कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सहकारीले दोस्रो पटक रक्तदान कार्यक्रम गरेको हो ।
सहकारीको प्रथम वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरिएको सहकारीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो । हामीले दिएको रक्तदानले जो कोहीले पनि जीवनदान पाउने विश्वासका साथ यस किसिमको पुण्य कार्यलाई निरन्तरता दिएको सुवेदीले बताउनुभयो ।
रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजिवी, समाजसेवी, ब्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरी तथा वडा प्रहरी कार्यालयका प्रहरी जवानहरुले समेत रक्तदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोग रहेको थियो । रगत संकलनमा प्राविधिक वारिस खान नेतृत्वको टोलीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ माघ २०७४ आइतबार ००:००  १ : ४५ बजे