२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

प्रदेश मुकामको असर- सुस्तायो जग्गा कारोवार



मायादेवी अनलाइन, दाङ ।
सरकारले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेपछि दाङमा जग्गा कारोवार हृवात्तै घटेको छ । अस्थायी मुकाम दाङ तोकिने हल्लासँगै दाङमा जग्गाको कारोवार निकै बढेको थियो ।
अस्थायी मुकामको हल्ला चलेपछि जिल्ला मालमोत कार्यालय दाङमा दैनिक दुई सय कित्तासम्म जग्गा पास हुने गरेको निमित्त कार्यालय प्रमुख कमल वलीले जानकारी दिनुभयो । उहाका अनुसार अहिले दैनिक करिव ७० कित्ता मात्रै जग्गा पास भइरहेका छन् ।
दुई महिना पहिले पनि दाङमा दैनिक ७०र८० कित्ता जग्गा पास हुने गरेको वलीले जानकारी दिनुभयो ।
अस्थायी मुकामको हल्लाले दाङमा साविकको लुम्विनी अञ्चलका जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र कपिलबस्तुसम्मका ग्राहकहरु जग्गा किन्न दाङ आउने गरेको वलीले जानकारी दिनुभयो ।
तर, अस्थायी मुकाम रुपन्देही तोकिएपछि त्यहाँबाट दाङ जग्गा किन्न आउने क्रम रोकिएको छ । अहिले रोल्पा, सल्यान र रुकुमका ग्राहकहरु छन् । केही प्यूठानका ग्राहकहरु पनि आउने गरेको कार्यालयले जनाएको छ ।
अस्थायी मुकाम रुपन्देही तोकिपछि प्यूठानबाट समेत जग्गा किन्न दाङ आउने ग्राहकहरुको संख्या घटेको जग्गा व्यवसायीहरुले बताएका छन् । सरकारले पाँच नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकेपछि त्यहाँका लेखापढी व्यवसायीहरु समेत चिन्तित भएका छन् ।

प्रकाशित मिति : १५ माघ २०७४ सोमबार ००:००  २ : ५२ बजे