५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

किन ऐन विपरित काम थालियो ? निग्राधराममा निर्माण थालिएकोे भवन रोक्न आदेश



कपिलवस्तु, १८ पुस ।

लुम्बिनी विकास कोषले कपिलवस्तु नगरपालिका– २ निग्राधराममा थालेको पक्की संरचनाको निर्माण कार्य अहिले रोकिएको छ । १५ दिन अघि देखि शुरु गरिएको निर्माण कार्य पुरातत्व बिभागको आदेश पछि रोकिन पुगेको हो । बिभागले सो निर्माण कार्य प्राचिन स्मारक संरक्षण ऐन २०१३ बिपरित रहेको भन्दै कोषलाई काम रोक्न निर्देशन दिएको छ ।

पुरातात्विक मुल्य मान्यता विपरित संचरना निर्माण भईरहेको भन्दै व्यापक विरोध भएको थियो । कोषले ठेक्का लगाई निग्राधरामको मुख्य संरचना संगै ८ मिटर दुरीमा पर्यटक बस्ने र ध्यान गर्ने संरचनाको निर्माण थालेको थियो । निग्राधराममा निर्माण भईरहेको काम रोकिएको लुम्बिनी विकास कोषका तिलौराकोट संपर्क कार्यालयका प्रमुख संजय शर्माले बताउनुभयो ।

निग्रोधराममा आउने पर्यटकलाई ध्यान र आराम गर्न १२ मिटर लामो र ६ मिटर चौडा संरचनाको सेड (ध्यान केन्द्र) बनाउने काम थालिएको थियो । निग्रोधराममा आएकाहरुलाई ध्यान र आरामका लागि कोषले सो संरचना निर्माण थालेको थियो । अहिले सम्म जग र पिलरको काम पुरा भएको छ । बनेको संरचना हटाउन पनि विभागले निर्देशन दिए पनि यो काम चाहिँ अझै भएकोे छैन् ।

प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातात्विक स्थलमा तोकिएको बिधि पुरा नगरी पक्की संरचना निर्माण गर्न पाईदैन । पुरातात्विक ठाउँमा सिमेन्ट, ईट र सरिया प्रयोग गरेर संरचना बनाउन नपाईने भनेर पुरातत्वविद्हरुले विरोध गरेका थिए । तिलौराकोट र निग्राधराम लगायत ७ बौद्ध पुरातात्विक स्थल संरक्षण र विकासको जिम्मा सरकारले ऐन बनाएर लुम्बिनी विकास कोषलाई दिएकोछ ।

भगवान गौतम बुद्ध ज्ञान प्राप्त गरेर राजधानी कपिलवस्तु फर्कदा आफना आमा बुवासंग पहिलो पटक निग्राधराममा भेटघाट गरेका थिए । यहाँ बुद्धले ज्ञान प्राप्त गरेपछि छोरा राहुल र श्रीमती यशोधरालाई भिक्षु चिबर दान गरेर भिक्षु भिक्षुणी बनाएका छन् ।

यस स्थानमा भगवान गौतम बुद्ध १५ औं वर्षावास बसेका थिए । त्यसकारण बौद्ध धर्मावलम्बीका लागि यो ठाउँ निक्कै पवित्र र महत्वको मानिन्छ । सन् २००५ मा लुम्बिनी विकास कोषले निग्राधरामको उत्खनन् गरेर उत्तर दक्षिणका दुई मुख्य संरचना बाहिर ल्याएको थियो । अहिले यो नै यहाँ हेर्ने मुख्य ठाउँ बनेको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ४ : ४५ बजे