२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

कृषि विकास कार्यालय भन्छ, ‘यसपालि तोरी उत्पादन बढ्छ’



भुपाल थापा, कपिलवस्तु, १८ पुस ।
जिल्लामा विगतका वर्षहरुमा निरन्तर ओरालो लागेको तोरी उत्पादनमा चालुवर्षमा भने वृद्धि हुन थालेको छ । विगतका वर्षमा तोरी खेतीको सिजनमा बीउ, मलको अभाव सिर्जना हुने गरेको भए पनि यसवर्ष भने तोरी खेतीका लागि पर्याप्त सुविधा भएसँगै उत्पादनमा वृद्धि भएको हो । तोरीको फूल फूलेर फल लाग्ने मुख्य समयमा मौसम अनुकूलताले यस वर्ष जिल्लामा तोरीको उत्पादनमा १० प्रतिशतले वृद्धि हुने कृषि कार्यालयको अनुमान छ ।
पर्याप्त जग्गा हुँदा पनि सिँचाइ सुविधा नहुँदा विगतका वर्षमा तोरी उत्पादनमा कमी आउने गरेको थियो । तोरी खेतीको समयमा बीउ बिजनको अभाव, शीतलहर, रासायनिक मलको अभाव लगायतका समस्याले गर्दा प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको स्थानीयको भनाइ छ ।
अहिले कपिलवस्तुमा तोरी खेतीको क्षेत्रफल बढेर २ हजार ८ सय ४५ हेक्टर पुगेको छ । त्यसबाट वार्षिक २ हजार ५ सय ६५ मेट्रिक टन तोरी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत खुर्सेद अहमद खाँले बताउनुभयो । ‘गतवर्ष भन्दा यस वर्ष तोरीको उत्पादनमा १० प्रतिशतले वृद्धि हुनेमा उहाको दाबी छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७४÷०७५ मा जिल्लामा तोरी उत्पादनको परिमाणमा ८ देखि १० प्रतिशत सम्म वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाको पूर्वोत्तर भाग मोतीपुर, कोपवा, बाणगंगा, पटना, निग्लिहवा, पश्चिमको शिवपुर, खरेन्द्रपुर, इमिलिया, बुड्डी, महाराजगञ्जलगायत दक्षिणी क्षेत्र वसन्तपुर, सौराहा, मर्जादपुर, बैदौली लगायतको स्थानलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।
पशुपालन तथा तरकारी खेतीमा जस्तै आकर्षण तत्कालै बढेको पाइँदैन तर पनि रोग, किराको समस्या समाधान भएपछि किसानको आकर्षण तोरी खेतीमा भने बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सरकारले तेलहन बालीलाई प्रवद्र्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण अहिले बढेको हो ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ४ : ४८ बजे