२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

जथाभावी फोहर फ्याक्दै बुद्धभूमी नगरपालिका



मायादेवी अनलाइन, कपिलवस्तु, २० पुस ।
जिल्लाकै ठूलो क्षेत्रफल रहेको बुद्धभूमी नगरपालिकाले सरसफाई व्यवस्थापनमा चासो देखाएको छैन् । नगरपालिका क्षेत्रबाट उत्पादित फोहरहरु जथाभावी बन क्षेत्रमा फ्याक्ने गरिएको छ । साबिक बुद्धबाटिका नगरपालिका हुदै निर्माण गरिएको ल्याण्डफिल्ड साइट छाडेर नगरपालिकाका सरसफाई कर्मचारीले तिलौराकोट साझेदारी बन क्षेत्रमा फोहर फ्याक्ने गरेका छन् । बैज्ञानिक बन व्यवस्थापनमा नेपालकै उत्कृष्ठ मानिएको तिलौराकोट साझेदारीमा जथाभावी फोहर फ्याक्दा विरुवा तथा बन्यजन्तुमा नकारात्मक असर पुगेको छ । बैज्ञानिक बन अध्ययन तथा अवलोकन गर्न आउनेहरुलाई पनि जथाभावी फोहरले समस्या पार्ने गरेको छ ।

नगरपालिकाले फोहर व्यवस्थापमा चरम लापरवाही देखाएको नगरबासीहरुको आरोप छ । ल्याण्डफिल्ड साइट हुदाहुदै बन तथा सडक छेउमा फ्याक्नु लापरवाहिको पराकाष्टा भएको स्थानीय विकास थारुले बताए । नगर वरिपरी फोहर फ्याक्ने कर्मचारीलाई कारवाही गर्न समेत नगरपालिकाले चासो नदेखाएको उनको भनाई छ । तिलौराकोट साझेदारी बनका अध्यक्ष जय प्रकाश पाण्डेले पटक–पटक नगरपालिकालाई बन क्षेत्रमा फोहर नफ्याक्न आग्रह गर्दा समेत अटेरी गरेको आरोप लगाए । हामीले थुप्रै पटक कार्यालयलाई बन तथा नदी किनारमा जथाभावी फोहर नफ्याक्न आग्रह गरेका छौ तर अब पनि अटेरी गरिए फोहर फ्याक्ने सवारी तथा कर्मचारी दुबैलाई नियन्त्रणमा लिन्छौ उहाले भन्नुभयो । ईलाका बन कार्यालय गोरुसिंगेले पनि नगरपालिका संग ल्याण्डफिल्ड साइट हुदा हुदै जथाभावी बन क्षेत्रमा फोहर फ्याकेको बताउदै अब पनि अटेरी गरे बन ऐन अनुसार कारवाही अघि बढाइने जानकारी दिए । आफुले २ पटक नगरपालिकालाई पत्र काटेपनि वेवास्ता गरेको सहायक बन अधिकृत यादवको भनाई छ ।

नगरपालिका श्रोतका अनुसार चाल आ.ब.मा नगरपालिकाले फोहर व्यवस्थापनका लागि कुनै पनि रकम विनियोजन गरेको छैन । जसकारण फोहर व्यवस्थापनमा कर्मचारी तथा अधिकारीहरुले चासो देखाएका छैनन् । “कर्मचारीलाई भत्तामा २४ लाख १२ हजार रुपैया छुट्याइयो तर नगरपालिकाको फोहर व्यवस्थापन जस्तो महत्वपूर्ण विषयमा एक रुपैया विनियोजन गरिएन अनि कस्ले चासो देखाउने” स्थानीय मदन सुवेदीले भने । नगरपालिकाको बार्षिक नगर विकास योजनाको बार्षिक निति तथा बजेटमा फोहर व्यवस्थापनमा रकम विनियोजन भएको छैन । कर्मचारी र पदाधिकारीको विदेश भ्रमणका लागि २० लाख रुपैया विनियोजन गरिएको छ, खाजा खान १० लाख, कर्मचारी भत्ता २४ लाख छुट्याइएको तर फोहर व्यवस्थापनमा १ हजार पनि बजेट विनियोजन नगरिनु निकै दुखद भएको नगरबासीहरुको भनाई छ ।

फोहर व्यवस्थापन मात्र नभई नगरपालिकाले सार्वजनिक शौचालय निर्माणमा समेत चासो देखाएको छैन । नगरपालिकाले नगरका सबै वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भनिएता पनि हाल सम्म कतै निर्माण सुरु भएको पाइदैन । नगरसभा बाट पारित बजेट तथा योजनामा केहि मन्दिर तथा मदरसामा शौचालन निर्माण भनिएता पनि मुख्य बजारहरु ईमिलिया, गोरुसिंगे पत्थरकोट, वीरपुर, विजगौरी, चेत्रादेइ लगायतका स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि कुनै बजेट छैन । बुद्धभूमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले फोहर व्यवस्थापनका पक्षमा आफुहरु गम्भीर भएको बताएका छन् । कर्मचारीले लापरवाही गरेको पाइए कारवाही गरिने उनले बताए । फोहर व्यवस्थापनमा बजेट विनियोजन नभएको स्वीकार्दै उनले आन्तरिक श्रोतबाट मिलाइने जानकारी दिए ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १ : ३५ बजे