३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मानव बेचबिखनको “ट्रान्जिट प्वाइन्ट” बन्दै चाकडचौडा !



राघवेन्द्र चौबे, कपिलबस्तु, २० पुस ।
रोजगारीका लागि भारत हुँदै तेश्रो मुलुक जान लागेका तीन जना युवतीको कपिलबस्तुबाट उद्धार गरिएकोछ । अवैध तरिकाले कुवेत र दुबई जान हिंडेका ती युवतीको जिल्लाको सीमानाका चाकरचौडाबाट उद्धार गरिएको हो । अवैध तरिकाले भारत हुँदै कुवेत जान लागेका काभ्रेपलाञ्चोक जिल्ला थोकचोककी २१ बर्षिय निरमाया तामाङ, दाङ जिल्ला सुन्दर नगरपालिका–१४ बस्ने ३२ बर्षिय कल्पना परियार र दुबई जान लागेकी मकवानपुरकी २१ बर्षिय सुस्मिता तामाङ गरि ३ जना युवतीको सीमा प्रहरी कार्यालय चाकरचौडा कपिलबस्तुले सीमानाका चाकरचौडा (अलिगडवा)बाट उद्धार गरेको हो ।
काठमाण्डौ र बुटवलबाट पुर्वपश्चिम लोकमार्ग अन्र्तगत कपिलबस्तुको पिपराबाट चाकरचौडा हुंदै उत्तरप्रदेशको सिद्धार्थनगर नौगढ़ देखी दिल्ली जान उक्त युवतीहरु हिंडेका थिए । सिमानाकामा चेकजाच तथा सोधपुछका क्रममा शंकास्पद गतिविधि देखिएकाले तीनै जनालाई सोधपुछ गर्दा आफुहरु बिदेश जान हिडेको बताएका थिए ।
सोधपुछको क्रममा मकवानपुर घर भई हाल काठमाडौं चक्रपथ बस्ने सुस्मिता तामाङले कपिलवस्तुको मनोज भन्ने ब्यक्तिले रोजगार दिलाउछु भनि दिल्ली लग्दै गरेको बताएकी प्रहरीले जनाएको छ । सुस्मितासंगै अन्य तीन जना समेत काठमाडौंबाटै आएको र सोधपुछको क्रममा अन्य ब्यक्तिहरु सामान किन्ने भन्दै भागेको अनुसन्धानको क्रममा तथ्य फेला परेको थियो । निरमाया र कल्पनाले बताए अनुसार उनीहरुलाई काठमाडौंबाट बुटवलहुंदै चाकरचौडा र चाकरचौडादेखि दिल्ली सम्म पुर्याउने ब्यक्तिको बारेमा भने केही जानकारी छैन् । “दिल्लीमा पुगेर कस्लाई भेट्ने हो, त्यो हामीलाई कुनै थाहा छैन” निरमायाले भन्नुभयो ।
सोमबार उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मार्फत आफन्तको जिम्मा लगाइएको सीमा प्रहरी कार्यालय चाकरचौडाका प्रहरी नायब निरीक्षक लीला बहादुर कुंवरले बताउनुभयो । पुर्वपश्चिम लोकमार्गदेखि करिब २७ किमि दक्षिणमा रहेको छोटी नाका चाकरचौडाबाट अहिले मानव बेचबिखनको गतिबिधी बढेको प्रहरीको भनाइ छ । यस क्षेत्रमा मानव बेचबिखन बिरुद्ध काम गर्ने कुनैपनि संघसंस्था नहुदा यस्ता घटनामा बृद्धि भएको प्रहरी नायब निरिक्षक कुंवरले बताउनुभयो । “अरु नाकामा जस्तो मानव बेचबिखन विरुद्ध काम गर्दैआएका संघसंस्था पहुंच यहां शुन्यसरह रहेको छ, यस्मा सवैपक्षको ध्यान जानु जरुरी छ,” उहाले भन्नुभयो । एक हप्ताको अन्तरालमा उक्त युवतीहरुको उद्धार गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  ४ : ३२ बजे