बाँके, पुस २० । शीतलहर र चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
केही दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको हो ।
वडाध्यक्षहरुको समन्वयमा नेपालगञ्जको त्रिभुवनचोक, धम्वोझीचोक, बागेश्वरी मन्दिर, महेन्द्रपार्कलगायत ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपलिकाका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरी जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा दुई चट्टा दाउरा वितरण गरिएको छ ।
नगरका केही स्थानमा बिहीबार पनि दाउरा वितरण गरिनेछ । उपमहानगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाएको हो ।
चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनुपरेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ ।
प्रतिक्रिया