१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बन कार्यालयले अवरोध गर्दा सिंचाई योजना अलपत्र



मायादेवी अनलाइन, कपिलवस्तु, २१ पुस ।
तीन हजार हेक्टर भूमि सिंचाइ गर्ने उद्देश्यले निर्माण थालिएको गुडुरुङ सिंचाई आयोजना बन कार्यालयको अवरोधका कारण अलपत्र परेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. १ मा बन्दै गरेको गुडुरुङ सिंचाई योजनाको काम बन कार्यालयले अगाडी बढाउन नदिए पछि विचमै अलपत्र परेको हो । जिल्ला बन कार्यालय र सिंचाई विकास डिभिजन कार्यालय कपिलवस्तु विच विवाद बढ्दै जादा आयोजनाको नहर निर्माणको कार्य लथालिङ बनेको छ ।
आ.ब. ०६९÷०७० मा विश्व बैङ्कको लगानीमा गुडुरुङ सिंचाई योजनाको बाँध र नहर निर्माणको काम थालिएको थियो । रु. ७ करोड ५१ लाख ८६ हजारको लागतमा निर्माण गर्ने भनिएको बाँध र नहर अहिले अलपत्र अवस्थामा छ । निर्धारित समयमा बाँध नबने पछि सिंचाई सुविधाको आशा गरि बसेका हजारौँ किसान अहिले चिन्तामा छन । सिंचाई आयोजनाको मूल नहर निर्माण गर्ने अधिकांश क्षेत्र बनमा पर्ने भएकाले कार्यालयले अवरोध गर्दै आएको छ ।
बाँध निर्माण पछि बुद्धभुमि नपाका वडा नम्बर ३ र ४ का झण्डै ३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पु¥याउने लक्ष्य राखिएको छ । स्थानीय गुडुरुङ नदीबाट सिंचाई सुविधा पु¥याउने गरि बाँध र नहरको निर्माण कार्य थालिएको हो । यद्यपि बाँध निर्माणको काम पुरा भए पनि नहर निर्माणको काम ३० प्रतिशत मात्र पुरा भएको छ । नहर निर्माणको काम बन कार्यालयले रोकेको गुडुरुङ सिंचाई योजना उपभोक्ता समितिका सचिव विष्णु भुसालले बताए । नहरको काम जंगल क्षेत्र भित्र गर्नुपर्ने भएपछि बन विभागबाट वातावरणीय प्रभाव मूल्याङ्कन (आईई) गरिएको थियो । उक्त आईइ प्रतिवेदन विभागबाट आएपनि जिल्ला बन कार्यालयले स्विकृत नगर्दा काम रोकिन पुगेको उपभोक्ता समितिका सचिव भुसालले बताए ।
सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख राजेन्द्र महतोले समयमै सक्नुपर्ने काम नसकिए पछि अहिले बजेट नै फ्रिज भैसकेको बताए । कार्यालयले ठेकेदारलाई ०७२÷०३÷१५ गते सम्म काम सक्ने गरि ठेक्का सम्झौता गरेता पनि काममा अवरोध सिर्जना भएपछि ठेकेदारले काम छाडेको छ । बन कार्यालयबाट काममा हस्तक्षेप भएपछि काम पुरा हुन नसकेको कार्यालय प्रमुख महतोले जानकारी दिए । काम हुँदा हुँदै रोकिने पुग्यो साह्रै दुखको कुरा उनले भने, “अब अधुरो कामलाई पुरा गर्ने प्रयास थाल्दै छौ” ।
जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख कृष्णदत्त भट्टले गुडुरुङ खोला सिंचाई योजनाको दोषि सिंचाई डिभिजन कार्यालय नै रहेको दाबी गर्छन । सिंचाई कार्यालयकै लापरबाहिले नहर निर्माणको काम रोकिन पुगेको उनले आरोप लगाए । सिंचाई विकास कार्यालयले (आइई) गराउँदा गल्ति गरेको कारण काम रोक्न बाध्य भएको उनले दाबी गरे । आईई गर्दा नहर निर्माणमा २ सय ३३ रुख कटान गर्नुपर्ने देखिन्छ, तर अहिले ३ सय ७८ रुख काट्नु पर्ने बाध्यता छ उनले भने “अब काम कसरी गर्न सकिन्छ ।” फेरी आईई गरेपछि बल्ल काम सुचारु गर्नुपर्ने उनी बताउँछन ।
यता उपभोक्ता समितिका अध्यक्ष श्याम प्रसाद खनालले अनावश्यक बखेडा निकालेर बन कार्यालयले दुख दिन खाजेको आरोप लगाए । बन विभाग बाटै आएको टोलीले आईई गरेको प्रतिवेदनलाई जिल्ला बन कार्यालयले रोक्न खोज्नुलाई चलखेलको रुपमा आफुहरुले बुझेको उनले बताए । बन विभागले सबै गाउँलेलाई भेला गराई आईइ गरेकोले त्यसलाई नै आधार मानेर नहरको काम गर्न दिनुपर्ने उनले माग गरे।

प्रकाशित मिति : २१ पुस २०७४ शुक्रबार ००:००  ४ : ४९ बजे