२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

गाईपालनबाट एक युवा मालामाल, मासिक एक लाख कमाई



पाल्पा, २८ पुस ।
तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् ।
गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ ।
वैदेशिक रोजगारबाट फर्केर उहाँले तीनओटा गाईबाट व्यवसाय शुरु गर्नुभएको हो । विदेशबाट फर्केर गाईपालन गर्नेमा अर्गली बौघापोखराथोक, मदनपोखरा, रामपुरलगायत क्षेत्रका युवा बढी रहेका छन् ।
मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर यहाँका युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् ।
स्थानीय बासिन्दा मानु रेश्मी १२ वटा गाईबाट दैनिक १२० लिटर दूध बिक्री गर्न सफल हुनुभएको छ । घरपरिवारसँग बसेर नै गाईपालनबाट आम्दानी गर्न सकिने भएपछि विदेश जान नपर्ने उहाँले बताउनुभयो । सहकारीमार्फत दैनिक ५०० लिटरभन्दा बढी दूध सदरमुकाममा बिक्री गरिँदै आएको छ ।
गाईपालन व्यवसायबाट स्थानीय युवा मासिक रु ५० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्न सफल भएका छन् । पर्याप्त आम्दानी लिन थालेपछि गाईपालन व्यवसायमा युवाको आकर्षण बढेको हो । विदेशबाट फर्केका युवाले सामूहिक रुपमा गाईपालन र तरकारी खेती गर्न थालेका छन् । (रासस)

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  १ : ४४ बजे