२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

दाङमा बदिया कुखुराको व्यवसायिक पालन सुरु



दाङ, २८ पुस ।
दाङ जिल्लामा स्थानीय जातका कुखुराहरु मासिन थालेपछि त्यसकै स्वाद पाउनका लागि भालेलाई बदिया बनाएर व्यवसायिक पालन थालिएको छ ।
मासुका लागि बोइलर कुखरा मात्रै व्यवसायिक रुपमा पालन हुदै आएकोमा पछिल्लो समय स्थानीय जातका कुखुरा जस्तै मानिने बदिया कुखुराहरु पनि व्यवसायिक रुपमै उत्पादन हुन थालेका हुन् । स्थानीय जातका कुखुराको भन्दा फरक स्वाद हुने र मासु पनि खँदिलो हुने हुँदा बदियाको माग निकै बढदै गएको छ ।
जिल्लामा मात्र नभई जिल्ला बाहिर पनि दाङको बदिया कोसेलीको रुपमा पुग्न थालेका छन् । माग बढदै गएपछि यस्को व्यवसायिक पालन पनि सुरु भएको छ । घोराही उपमहानगरपालिकामा रहेको कुखुरा फर्ममा अन्यत्रको जस्तो बोइलर कुखुरा नभई बदिया कुखुराहरु पालिएको छ । सात वर्षअघि केही संख्याबाट बदिया पालन सुरु गरेर अहिले करिब ३ सय बदिया पालिरहेको कृषक हर्कबहादुर चौधरी बताउनु हुन्छ ।
कुखुराको भाले तीन महिना पुगेपछि अप्रेसन गरी त्यस्को अण्डकोष निकालेर बदिया बनाउने गरिन्छ । बदिया बनाइएको चार देखि ६ महिनामा झण्डै तीन किलोको पुग्ने र बिक्रीका लागि योग्य हुने गर्दछ । यी कुखुरा प्रति गोटा तीन हजार रुपैयाँका दरले बिक्री हुने गरेको छ । बदिया कुखुराको मासुको माग जिल्लामा धेरै भए पनि एक वर्षमा दुई लट मात्रै बिक्री गर्न सकिने भएकाले धेरैले व्यवसायीक पालन नगरेको चौधरी बताउनु हुन्छ ।
जिल्ला पशु सेवा कार्यालय दाङमा २ सय १४ बोइलर कुखुरा फर्म, ३८ लेर्यस र ७ वटा ह्याचरी दर्ता भएका छन् ।

 

प्रकाशित मिति : २८ पुस २०७४ शुक्रबार ००:००  १ : ४६ बजे