२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गुल्मीमा सुन्तलाको उत्पादन घट्यो



गुल्मी, ३ माघ ।
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा यस वर्ष २ हजार २ सय ५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीका अनुसार गएको वर्ष भन्दा यस वर्ष ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय गुल्मीका कृषि प्रसार अधिकृत रणबहादुर महतोले जानकारी दिनुभयो ।

गएको वर्ष ३ हजार १ सय ३० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । व्यवस्थित तरिकाले खेती नगर्नु र प्रयाप्त मात्रामा सिंचाइको सुविधा नहुँदा उत्पादन घटेको कृषि कार्यालय गुल्मीले जनाएको छ ।
बगैचा सुदृढीकरण नहुनु, किटनासक विषाधीको प्रयोग हुनु, बिरुवालाई समयमै काँटछाँटको अभाव र हावाहुरीका कारण पनि उत्पादन घटेको कृषि विज्ञको भनाई छ । यस अघि जिल्लामा १० करोड भन्दा बढीको सुन्तला उत्पादन हुँदै आएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष झण्डै ५ करोड भन्दा बढी रकम बराबरको सुन्तला उत्पादनमा घाटा भएको हो । अहिले कृषकले सरदर ५० रुपैयाँदेखि ८० रुपैयाँ प्रति केजी सम्ममा सुन्तला विक्रि गर्ने गरेका छन् । तर, बजारमा भने १ सय रुपैयाँदेखि १ सय ३० रुपैयाँ प्रतिकेजी सम्ममा बिक्री गर्ने गरेका छन् ।

 

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : ४२ बजे