पाल्पा, ३ माघ ।
आधुनिक तरिकाले बाख्रापालन शुरु गरेपछि पाल्पाको निस्दी गाउँपालिका– ५ गल्धा बहपुरकी उर्मिला सुनारीको दैनिकी फेरिएको छ ।
तीन वर्षअघि आधुनिक खोर निर्माण गरेर बाख्रापालन शुरु गरेपछि उहाँको आम्दानी मात्र नभई आनिबानीमा पनि परिवर्तन आएको छ । चारवटा माउ बाख्राबाट व्यवसाय शुरु गर्नुभएकी सुनारीले अहिले आठवटा माउ बाख्रा पाल्नुभएको छ । खोर व्यवस्थित बनाएपछि बाख्रापालन व्यवसाय उहाँको आम्दानीको बलियो माध्यम बनेको छ ।
गाउँको भिरालो जमिन, दुई महिनालाई पनि खान नपुग्ने पाखोबारीमा सुनारीलाई मकै र गेडागुडी लगाएर गुजारा गर्न निकै कठिन थियो । अहिले बाख्रापालनबाट हातमुख जोर्न समस्या छैन ।
सुनारीले पाठा बिक्रीबाटै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्नुहुन्छ । यसैबाट छोराछोरीको पढाइ खर्च र घरव्यवहार चलाउनुका साथै दुई छोरालाई रामपुर बजारमा पढाउँदै आउनुभएको छ ।
प्रतिक्रिया