२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

जयसवाल परिवारद्वारा साधुसन्तलाई न्यानो कम्बल वितरण



सीताराम चौधरी चन्द्रौटा ६ माघ ।

जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा निवासी सोनमति जयसवाल परिवारले ९० जना साधुसन्तलाई न्यानो कम्बल वितरण गरेको छ ।

स्वर्गीय पति राजाराम जयसवालको पूण्य तिथिको अवसरमा हरेक वर्षझै चन्द्रौटास्थित कर्णेश्वरी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी जयसवाल परिवारले कम्बल वितरण गरेको हो । बढ्दो चिसोबाट साधुसन्तलाई राहत दिलाउन र पतिको आत्माशान्तिका लागि कार्यक्रमलाई निरन्तरता दिएको उनले बताउनुभयो । स्वर्गीय जयसवालका छोरा जय माँ लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर सुरेश जयसवालले पूण्यप्राप्ति र बुवाको आत्माशान्तिको लागि साधुसन्तलाई कम्बल प्रदान गर्दै आएको बताउनुभयो । बुवाको पुण्यतिथिको अवसरमा आमा र पाँच भाइ छोराहरु मिलेर पुनित कार्य गर्दै आएको उहाँले औल्याउनुभयो ।
कार्यक्रममा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो हातबाट साधुसन्तलाई न्यानो कम्बल प्रदान गर्न पाउँदा आफूलाई समेत पुण्य प्राप्ति गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले साधुसन्त हाम्रो देशको पहिचान भएकाले उनीहरुको आधारभूत आवश्यकतामा हामी सबैले पुण्यदान गर्नुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालयका कार्यालय प्रमुख जगदीश अर्यालले साधुसन्त हाम्रो धर्म र संस्कृतिका संवाहक भएकोले धर्मका नाममा गरिने अनेक तडकभडकभन्दा यस्ता साधुसन्तको सम्मान सहित उनीहरुलाई कम्बल वितरण गर्नु पुनित र प्रसंशनीय कार्य भएको बताउनुभयो । कार्यक्रममा समाजसेवी हरिप्रसाद पोख्रेल, प्रेमबहादुर रायमाझी, अजय थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७४ शनिबार ००:००  ७ : ३७ बजे