२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

शहीद सप्ताह आजदेखि सुरु



शहीद सप्ताह सुरु

काठमाडौं, माघ १० । हरेक वर्ष मनाउदै आएको शहीद सप्ताह आजदेखि सुरु हुँदैछ । शहीद सप्ताहको पहिलो दिन बुधबार टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली सभा हुनेछ ।

त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

माघ १६ गते सहिद दिवसका दिन, बिहान साढे आठ बजे रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोली सहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यस बर्षको शहीद सप्ताहलाई व्यवस्थित गर्न काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । यस्तै सरसफाइको जिम्मेवारी महानगरको वातावरण व्यवस्थापन विभागलाई दिइएको छ भने झाँकीको व्यवस्थापन हनुमानढोका दरबार क्षेत्र कार्यक्रमले व्यवस्थापन गर्नेछ ।

सहरी पूर्वाधार विकास विभागले कार्यक्रम स्थलको रंगरोगन गर्नेछ भने कार्यक्रम अवधिमा कार्यक्रम स्थल तथा रुट व्यवस्थापनको जिम्मा नगर प्रहरी महाशाखालाई दिइएको छ ।

प्रकाशित मिति : १० माघ २०७४ बुधबार ००:००  ६ : १५ बजे