४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आर्थिक समृद्धिमा व्यापार संघको अहम भूमिका



सीताराम चौधरी, चन्द्रौटा, १२ माघ ।
आर्थिक विकास र समृद्धिमा व्यापारीहरुको महत्वपूर्ण भूमिका रहेको कपिलवस्तु क्षेत्र नं. ३, प्रदेशसभा १ का सदस्य अर्जुन कुमार के.सी.ले औल्याएका छन् ।
व्यापार संघ कपिलवस्तुको चन्द्रौटामा सम्पन्न दोस्रो साधारण सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य के.सी.ले आर्थिक उन्नतिले देश समृद्ध बन्ने उद्घोष गरेका हुन् । समग्र व्यापारीहरुको हकहितका लागि व्यापार संघले महत्वपूर्ण भूमिका खेलेका बताउँदै कार्यक्रमका प्रमुख अतिथि रहेका के.सी.ले छुपडीबाट शुरु गरेको व्यापार अहिले फस्टाएर ठूलो उद्योग संचालन भइरहेको उल्लेख गरे । गतवर्ष व्यापार संघले व्यापार महोत्सव लगाएर सर्पदंश उपचार केन्द्रलाई गरेको सहयोगको प्रशंसा गरे । केसीले व्यापारीको हक अधिकार सुनिश्चितताका लागि आफूले सक्दो प्रयास र सहयोग गर्ने आश्वासन समेत दिए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले देश अव आर्थिक समृद्धितर्फ उन्मुख भएकाले नगरलाई एक औद्योगिक करिडोर वनाउने लक्ष्यका साथ योजना अघि सारेका बताए । नगरलाई औद्योगिक करिडोर बनाउन व्यापार संघको सहयोग अपरिहार्य रहेको नगरप्रमुख अधिकारीले जिकिर गरे । नगरलाई समृद्ध बनाउन व्यापारी नै अग्रसर भएर लाग्नुपर्नेमा उनले जोड दिए । विगतको समयमा व्यावसाय तथा उद्योग दर्ता गर्न निकै कठिनाई रहेको गुनासो आएपनि अव त्यो समस्या समाधान भएको उनले उद्घोष गरे । “नियम अनुसार कागजात लिएर आएमा दर्ताको लागि समय लाग्दैन ।” –उनले भने ।
कार्यक्रमा वोल्दै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलीले व्यापारीहरु संरक्षणको काम गर्ने उद्योग वाणिज्य र व्यापार संघ रहेकोले सरकारले उद्योग संचालन गर्ने विधिलाई सहज वनाउनुपर्ने माग राखे । यस क्षेत्रमा ७ वटा ठूला उद्योगहरु संचालनको तयारीमा रहेको र ती संचालनको लागि निर्वाचित सांसदहरुले सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा वोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, समाजसेवी क्षेत्र वहादुर खत्री, युवानेता अजय थापा, महिला अधिकारकर्मी मीना परियार, सन्तोषी पाण्डे, इलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदीश अर्याल, मानव अधिकार प्रष्ठिानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडा लगायतले युवा र महिलालाई व्यापारमा अग्रसर वनाउनुपर्ने औल्याए । उनीहरले व्यापार संघको सफलताको समेत कामना गरे । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले जिल्लाभित्र छरिएका उद्योगी व्यापारीहरुलाई छाता संगठनमा आबद्ध गराउने र सम्पूर्ण व्यापारीहरुको हकअधिकारका लागि काम गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : १३ बजे