१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

आमाबाबु गुमाएका अनाथ बालबच्चाले पाए राहत



अजय बर्मा, तौलिहवा, १२ माघ ।
कपिलबस्तु बालगृहका अनाथ बालबच्चालाई चौधरी फाउण्डेसनले राहत बितरण गरेको छ । लामो समयदेखिको चिसो शितलहर र आर्थिक अवस्थाबाट बञ्चित रहेका बालगृहका १९ जना अनाथ बालबच्चालाई न्यायो कपडा (स्वीटर) बितरण गरेको हो । शितलहर र चिसोले बालगृहका अनाथ बालबच्चाको अवस्था बिचल्ली भएको र संचालन गर्न कठिनाई भएको समाचारमा प्रशारण भएपछि फाउण्डेसनले सहयोग प्रदान गरेको हो ।

गत माघ २ गते समाचार प्रशारण भएलगत्तै चौधरी फाउण्डेसनका अध्यक्ष एवं उद्योगपति बिनोद चौधरीको पहलमा बालबच्चाहरुका लागी न्यानो कपडा प्राप्त भएको हो । बिहिबार अपरान्ह बालगृहको भवनमा आयोजना गरिएको एक कार्यक्रममा कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, बालगृहका अध्यक्ष राजु अर्याल, सुरेश शर्मा, लगायतको उपस्थितीमा न्यानो कपडा बितरण गरिएको छ ।

बि.सं. २०५९ सालमा स्थापना भएको बालगृहको अवस्था दयनिय भएको समाचार प्रशारण तथा प्रकाशन भएपछि बिभिन्न संघसंस्थाले सहयोग समेत गरेको बालगृहका अध्यक्ष राजु प्रसाद अर्यालले बताउनुभएको छ । सहयोग प्रदान गर्ने चौधरी फाउण्डेसन तथा समाचार संप्रेषण गर्ने च्यानललाई बालगृहका अध्यक्ष राजु प्रसाद अर्यालले आभार प्रकट गर्नुभयो ।

शितलहर तथा चिसोबाट प्रभावित अनाथ बालबच्चाहरुलाई सहयोग गर्ने सहयोगीदाताको कार्य सहनीय रहेको कपिलबस्तुका सहायक प्रजिअ रामेश्वर अर्यालले बताउनुभएको छ । बालगृहका अनाथ बालबच्चाहरुलाई स्कुल ड्रेसको आवश्यकता रहेको अध्यक्ष अर्यालले बताउनुभएको छ । न्यानो कपडा पाएपछि अनाथ बालकहरु हर्षित भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : २० बजे