२ असार २०८२, सोमबार | Mon Jun 16 2025

अविरल वर्षाले गहुँबालीमा नोक्सानी



भुवन पाण्डे, रुपन्देही ।
बुधबार राती परेको अविरल वर्षाले रुपन्देही जिल्लामा लगाइएको गहु बालीमा ठूलो क्षती पु¥याएको छ ।
पाकेर स्यार्ने बेलामा परेको पानीले बीऊका लागि छरिएको गहुँको गुणस्तरमा क्षती भएको हो । पाकिसकेको गहुँ भिजे बीऊको उमारशक्ति कम हुने कृषि बिज्ञहरुको भनाई छ । अधिकांस क्षेत्रमा हावाहुरीले गहुँ ढालेको छ । २९ हजार चार सय हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ सबै भिजेकोले आउने सिजनमा बीऊको अभाव हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले बताउनुभयो ।
रुपन्देही जिल्ला गहुँको बीऊ उत्पादनमा अग्रणी जिल्ला हो । जिल्लामा तीन हजार मेट्रिक टन बीऊ उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको बीऊ देशका हरेक जिल्लामा जाने गरेको छ । नेपालमै बढी गहुँ उत्पादन रुपन्देहीमा हुन्छ । तर पछिल्ला वर्षहरुमा गहुँ उत्पादन घट्दै गएको छ । लामो समयसम्मको खडेरीले गहुँ नगाँजीने, सरा हाल्न नसक्ने र उमार शक्ति कम भएको बीऊको प्रयोग लगायतले गर्दा केहि वर्ष यता उत्पादन घट्दै गएको हो । यो वर्ष पनि गहुँ भित्राउने बेला पानी परेकोले गहुँ उत्पादनमा गत वर्षको तुलनामा पाँच प्रतिशतले कमी हुने कृषि विकास कार्यालयले तथ्याङ्क निकालेको छ ।
गहुँको लागी उपर्युत्त माटो, उर्भराशक्ति राम्रो भए पनि गहुँको सिजनमा भएको खडेरी, असिना पानी, बीउ, मल लगायतको समस्याले प्रत्येक वर्ष कम उत्पादन हुदै आएको छ । प्रति हेक्टर ३.५ प्रतिशत उत्पादकत्व राम्रो मानिने तराईका जिल्लाहरुमा हरेक वर्ष २ देखि ३ प्रतिशतको अनुपातमा उत्पादकत्व रहने गरेको छ । अनुदानमा आउने मलको अभावले सिमा नजिका किसानहरु कम गुणस्तरको मल भारतबाट ल्याउने गरेका छन् । त्यसले पनि उत्पादकत्वमा कमी आएको बिज्ञहरुको अनुमान छ । जिल्लामा भृकुति, आदित्य, विजय, गौतम, एनएल ९७१ र तिलोत्तमा जातका गहुँ लगाइएको छ । गत वर्ष रुपन्देहीमा ८३ हजार पाँच सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  २ : १५ बजे