२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आईपीएल : मुम्बईको भारी लक्ष्य बैंगलोरले भेटाउन सकेन



भारत ।
इण्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बइले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४६ रनले हरायो ।
मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा घरेलु टिमले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । उसले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रनको बलियो योगफल तयार पारेको थियो ।
शुन्य रनको अवस्थामा दुई विकेट गुमाएको मुम्बईका कप्तान रोहित शर्मा र इभिन लुइसले तेस्रो विकेटका लागि १ सय ८ रनको साझेदारी गरेपछि टिम बलियो स्थितिमा पुगेको थियो ।
रोहित शर्माले ५२ बलमा ९४ रनको योगदान दिए भने लुइसले ६५ रन बनाए । यस्तै क्रुनाल पाण्ड्याले १५ तथा हार्दिक पाण्ड्याले १७ रन बनाए । बलिङतर्फ उमेश यादव र कोरे एण्डरसनले २–२ विकेट लिए ।
२ सय १४ रनको विशाल लक्ष्य पछ्याएको बैंगलोर २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ६७ रनमा समेटियो । विराट कोहलीले ९२ रनको अविजित योगदान दिएका थिए । तर अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन ।
बलिङतर्फ क्रुनाल पाण्ड्याले तीन विकेट लिए भने जस्प्रित बुम्राह र मिचेल म्याकलेनाघनले २–२ विकेट हात पारे । पहिलो जित हात पारेको मुम्बईले तालिकामा २ अंक बनाएको छ भने बैंगलोरको पनि २ अंक छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५ बुधबार ००:००  १ : २७ बजे