भुपाल थापा, तौलिहवा ।
जिल्लामा उत्पादन भएको गोलभेडा लगायतका तरकारी जिल्ला बाहिर निकासी हुन थालेका छन् । पछिल्लो समयमा जिल्लामा राम्रो मूल्य पाउन नसकेपछि किसानहरु छिमेकी जिल्ला अर्घाखांची, रुपन्देही, दाङ तथा पोखरा र काठमाडौंसम्म गोलभेडा पठाउन थालेका हुन् । तरकारी उत्पादनमा नमुना एवम् पकेट क्षेत्र बनेको जिल्लाको बुद्धभूमि नगरपालिका १० धनकौलीका कृषकले दैनिक रूपमा गोलभेडा बाहिरी जिल्लामा निर्यात गर्दे आइरहेका छन् । दैनिक ९० क्विन्टल गोलभेडा जिल्ला बाहिर निकासी भइरहेको कृषकहरू बताउँछन् । रामघाट तरकारी संकलन केन्द्रमा जम्मा गरी उनीहरूले गोलभेडा जिल्ला बाहिर पठाउने गरेका छन् । धनकौलीबाट दैनिक ७० देखि १०० क्विन्टल गोलभेडा जिल्लाबाहिर निकासी गर्ने गरिएको अगुवा कृषक बहराईची केवटले बताउनुभयो ।
जिल्ला बाहिरका व्यापारीहरू आफैँ गाडी लिएर गोलभेडा किन्न आउने गरेको अर्का कृषक उमेश केवटले जानकारी दिनुभयो । २ र ३ जना स्थानीय कृषकले समन्वय गरेर गोलभेडा बेच्ने गरेका उहाँ बताउँनुहुन्छ । चेत्रादेइका अगुवा कृषक बालदिन केवटले चेत्रादेइ, पिपरी, पचेहरा, जरलैया लगायतका स्थानका कृषकहरूसँग समन्वय गरेर जिल्ला बाहिरमा गालभेडा निकासी गर्दै आएको बताउनुभयो । गाउँमा तरकारी संकलन केन्द्र संचालन भए यता तरकारी बिक्री वितरणमा समस्या नभएको कृषक बालदिनको भनाइ छ ।
कृषकले आफैँ मूल्य निर्धारण गर्न पाउँदैनन्
जिल्लामा गोलभेडा उत्पादन राम्रो रहेता पनि किसानहरूले आफ्नो उत्पादनको मूल्य आफैँ तोक्न पाएका छैनन् । उनीहरूले उत्पादन गरेको तरकारी मूल्य बिचैलियाले निधारण गर्ने गरेको कृषक भीम केवटले बताउनुभयो ।
‘तरकारी कुहिंने, सड्ने र गल्ने त्रासले मूल्य निर्धारण गर्न अफ्ठ्यारो भएको छ,’ कृषक केवटले भने, ‘ठेकेदारको गाडी आउँछ, हामीले गोलभेडा लोड मात्र गछौैँ, तर कति पैसा दिन्छन, त्यो पछि मात्र थाहा हुन्छ ।’ यसरी किसानले उत्पादन गर्ने तरकारीको मूल्य व्यापारीले निर्धारण गर्दा किसान र उपभोक्ता ठगिने गरेका छन् ।
थोक व्यापारीकै मूल्य
आफैँले उत्पादन गर्ने तरकारीको बजार भाउ निर्धारण गर्न नपाउँदा कृषि उपजको उचित मूल्य नपाएको बुद्धभूमि नगरपालिका १० हर्रहवाका कृषक राम कुमार यादवले गुनासो गर्नुभयो । ‘तरकारी संकलन गर्न आउदा थोक व्यापारीले सुरुमै किसानसँग सम्झौता गर्दैन,’ उहाले भन्नुभयो, ‘‘लोड’ गरेपछि मात्र तरकारीको भाउको कुरा हुन्छ ।’ यहाँका कृषकहरूले उब्जाउ गरेको तरकारीको मूल्य थोक व्यापारीको नियन्त्रणमा पुगेकाले मिहिनेत गरेर उब्जाउ गरेको तरकारी सस्तो मूल्यमा बेच्नु पर्ने बाध्यता रहेको कृषक दिनानाथ कहांरले बताउनुभयो । टमाटर अत्यधिक उत्पादन भएकाले गत वर्षभन्दा यस वर्ष कम मूल्य पाएको कृषकहरु गुनासो गरेका छन् । सामान्यतया १० कठ्ठामा सय क्विन्टल गोडभेडा उत्पादन हुने कृषकहरु बताउँछन् । गतवर्ष वार्षिक चार लाख रुपैयाँ आम्दानी गरेका कृषक राजकुमार यादवले यो सिजनमा ७५ हजार रुपैयाँको मात्रै गोलभेडा बिक्रि भएको बताउनुभयो । प्रतिकिलो ७ रुपैयाँका दरले गोलभेडा बिक्रि गर्न बाध्य भएको उहाको भनाई छ ।
भारतीय टमाटर आयात हुँदा समस्या
त्यस्तै सस्तो मूल्यमा भारतीय टमाटरको आयात हँदा पनि यहाँका कृषकहरू मारमा परेका छन् । गोलभेडा सस्तो मूल्यमा भारतबाट आयात हुँदा तरकारी खेती गर्न निकै समस्या भएको कृषक शोभा केवट बताउनुभयो ।
तरकारीको राम्रो पकेट क्षेत्र
जिल्लाकै तरकारीको राम्रो पकेट क्षेत्र धनकौलीमा ३६ हेक्टर बढीमा गोलभेडा खेती गरिएको छ । किसानहरू राम अयोद्या केवटले ५ कठ्ठा, शोभा केवटले ४ कठ्ठा, रामहरि यादवले २ कठ्ठा, भीम केवटले १० कठ्ठा, दिनानाथ कहांरले ६ कठ्ठामा गोलभेडा खेती गर्नुभएको छ । यस्तै राजकुमार यादवले ४ कठ्ठा, चन्द्रेश्वर यादवले ६ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेको छन् ।
चिस्यान केन्द्र नहुँदा समस्या
कपिलबस्तुमा हिमसोना, देव, त्रिशुल, धार्नी, मनिषा लगायतका प्रजातीका गोलभेडाको खेती गरिने कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खांनले बताउनुभयो । जिल्लामा चिस्यान केन्द्रको अभावका कारण वर्षेनी किसानले उत्पादन गर्ने बालीको उचित भण्डारण, बजार व्यवस्थापन गर्न समस्या परेको उहाले बताउनुभयो ।
४ जेष्ठ २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया