२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

गरे के हुँदो रहेनछ र ?



मायादेवी अनलाइन ।
कपिलवस्तु प्रहरीको नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी उपरिक्षक मनोज कुमार यादव आएको एक महिना पुग्नै लाग्यो । गरे के हुँदो रहेन छ र ? भन्ने आभास पाउँन थालिएको छ । सरुवा भई जिल्ला आउनुभएका यादवले पत्रकार समक्ष परिचयात्मक कार्यक्रममा गरेका केही प्रतिबद्धता नयाँ थिएनन तर, जरुरी थिए । बोलेका कुरा व्यवहारमा न उतार्दा सम्म पताउँन सकिने थिएनन । यद्यपी यादवले हालै गरेका केही कामले प्रशस्तै आशा पलाएका छन । राम्रो कामलाई राम्रो नभन्ने हो भने काम गर्ने आट भएकाहरुको मानसिकता कमजोर हुन्छ । राम्रो काम प्रति सदैव सम्मान गर्नुपर्छ । रचनात्मक सल्लाह, सुझाव दिइरहनु पर्छ । साथ साथमा ‘वाच डक’को रुपमा पनि निगरानी गरिरहनुपर्छ । ता कि बाटो विराउन खोजे पनि सोही ठाउँमा ल्याउन सकियोस ।
नेपाल–भारतको सीमा खुल्ला छ । संसारमा कमै मात्र यस्ता देश होलान जहाँ एक देशबाट अर्को देशमा सहजै जान सकिने ? हो हामी त्यस्ता देशका नागरिक हौँ । एक देशबाट अर्को देशमा सहजै जान सक्छौ । यो एउटा अवसर र दुर्भाग्य दुवै हो । तर, त्यही खुला सिमानाकाको फाइदा उठाएर दैनिक तस्करी गर्ने तस्करहरुको संख्या पक्कै कमि छैन । तस्करहरुले खुलेयाम एक देशबाट अर्को देशमा तस्करीको गतिविधि चलाइरहेका छन । त्यसको नियमन गर्ने जिम्मेवार प्राप्त गरेका निकायहरुको काम सन्तोषजनक छैन । बरु तिनै तस्करहरु संग मिलेमतो गरेर दैनिक आर्थिक लाभ लिनेहरु प्रशस्तै भेटिन्छन । सिमानाकामा दैनिक तस्करी भैरहेको छ । यो कुरा सुन्दा नियमन निकायका अधिकारीहरुलाई चसस्क घोच्चे गरेपनि यो आरोप मात्र नभइ सत्य हो भन्ने कुराको प्रमाणित हालै भएको छ । जिल्ला प्रहरी कार्यालयले नयाँ प्रहरी उपरिक्षक पाए पछि यसको तथ्यलाई थप प्रमाणित गरिदिएको छ । किनकि नयाँ प्रहरी उपरिक्षक आए लगत्तै लाखौँका सामान सिमानाकाहरुबाट बरामद हुनु पक्कै संयोग होइन । भैरहेको विषयलाई कडाई गरेको मात्र हो ।
कपिलवस्तु प्रहरीका अनुसार ३० लाख ८२ हजार ८ सय ८० रुपैयाँ बराबरको अवैध सामग्री बरामद भएको छ । उक्त बरामद सामग्री भन्सार चलान गरिएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल ल्याउने र नेपालबाट भारततर्फ लैजाने क्रममा विभिन्न मितिमा पक्राउ गरेको अबैध सामान प्रहरीले भन्सार चलान गरेको हो । फलफूल, खाद्य सामग्री, धुमपान, मध्यपान, कस्मेटिक, कपडा, हार्डवेयर सामग्री, औषधि लगायतका सामग्री विशेष चेकजाँचका क्रममा जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार सबैभन्दा बढी कालो मरिच २३ लाख ४३ हजार रकम बराबरको ४ हजार २ सय ६० किलो बरामद गरिएको छ । यस्तै चुरोट मात्र ३८ पेटी रु १ लाख ३१ हजार बराबरको नियन्त्रणमा लिइएको छ । यसका साथै स्याउ ६६ हजार ५सय २७ रुपैयाँ बराबरको १२२ कार्टुन, फेयर एण्ड लबली ५६ हजार १६० रुपैयाँको ३ पेटी अबैध रुपमा बरामद भएको छ ।
यस्तै भन्सार छलीका १८ हजार ९सयको ५२ पेटी क्लोज अप, १० हजार २५० रुपैयाँको २०५ किलो चिनी, ४ हजार २ सय को ८४ पोका बिस्कृट तथा ८ हजार ६ सय बराबरको ६४ पिस कम्बल, लेडिज सुट सुरुवाल तथा बच्चाका कपडा बरामद गरी भन्सार चलान गरिएको छ । यसका साथै जिआई पाइप सकेट २८ पिस २ हजार ८ सय रुपैयाको, कर्नी ६ पिस ६ सय रुपैयाँ, सेवई (मिठाई) २८ किलो १४ सय रुपैयाँ, नरिवल र छोहारा १० किलो १ हजार रुपैयाँ तथा प्लास्टिक वासर ४८ पिस ९६० रुपैयाँ र २४० रुपैयाँको औषधि बरामद भएको छ ।
यो काम प्रहरीले करीब एक साताको अवधिमा गरेको हो । कुरा बोलेर होइन गरेर देखाउनुपर्छ भन्ने गतिलो उदाहरण यो हो । एक सातामा यति धेरै सामग्री अवैध भेटिन्छ भने दिनहुँ कति तस्कर सलबलाउँछन होला सिमानाकाहरुमा ? एक पटक सोचौँ त ? सिमानाकाहरुको कडाई गरेर लाखौ रुपैया बराबरका भन्सार छलिका सामान बरामद गरेर केही हुन्छ कि भन्ने आशा जगाउने यादव प्रति पूर्ण साथ छ । यति मात्र होइन दैनिक तस्करहरुको निद हराम गर्ने गरि काम गर्नुस हाम्रो कामना छ । फेरी केही महिना देखाउनका लागि मात्र काम गर्न थाल्नुभएको हो भने खबरदारी अवश्य हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  १ : ४१ बजे