१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

म दाबीका साथ भन्छु, जनता सामु गरिएका बाचा अवश्य पूरा हुन्छ : मेयर श्रेष्ठ



मायादेवी अनलाइन, कपिलवस्तु ।
विं.सं. २०१४ सालमा जन्मिनुभएका केशव कुमार श्रेष्ठ बुद्धभूमि नगरपालिकाका मेयर हुनुहुन्छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका श्रेष्ठ बोलीमा स्पष्ट, व्यवहारमा सफा र विकासप्रेमीका रुपमा नगरमा परिचित हुनुहन्छ । यसभन्दा पहिला जनताबाट अनुमोदित हुने अवसर नपाउँनुभएका श्रेष्ठको जनप्रतिनिधिको अनुभव पहिलो हो । शिक्षा, स्वास्थ्य र सरसफाईमा कपिलवस्तुको अब्बल नगरपालिकाका रुपमा लिइने बुद्धभूमिलाई अबको पाँच बर्ष भित्रमा जिल्लाकै उत्कृष्ट नगरपालिका बनाउने अठोट श्रेष्ठले गर्नुभएको छ । उहाँ संग जनप्रतिनिधिका बर्ष दिन शिर्षकमा आर्थिक खबरका प्रकाशक दीपक आचार्यले लिनुभएको अन्र्तवार्ता ।

 जनप्रतिनिधी भएर निर्वाचित भएको एक वर्ष तपाईको कसरी बित्यो ?

हामी निर्वाचित भएर आई सकेपछि कानुन, विधिविधानमा अलमल हुनुप¥यो । तथापी त्यसलाई पनि चिर्दै नगरपालिकालाई प्रभावकारी रुपमा विकासका योजना र सुशासनका काममा गति दिनुपर्छ भन्ने हिसाबले हामी लाग्दै गर्दा विकासका योजनाहरु सञ्चालन भैरहेका छन् । त्यसैगरी ठुला योजनाहरु पनि सम्पन्न गर्न बाँकी छन् ती कामहरु पनि पूरा हुन्छन् । यो एक वर्षलाई सिकाईको रुपमा लिएको छु । यो सिकाईको वर्षले अन्य वर्षहरुलाई मार्गदर्शन गर्ने छ । हामी आउँदो वर्षको बजेट बनाउने क्रममा छौ । यस वर्षले आगामी वर्षलाई ठुलो मद्दत मिल्ने छ भन्ने विश्वास लिएको छु । आगामी वर्षको बजेटमा हामीले लक्षित वर्ग, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र भौतिक विकास तिर बजेट बिनियोजन गर्ने सोच बनाएका छौ ।

 एक वर्षसम्म जनप्रतिनिधी भएर काम गरिरहदा अनुभव चाही कस्तो रह्यो ?

अब अनुभवको कुरा गर्ने हो भने म विगत देखी नै पार्टीमा आबद्ध रहँदा पनि सामाजिक र विकास निर्माणको काम गर्दै आएको थिए । त्यसो हुँदा अनुभवमा खासै भिन्नता पाएको छैन । तर, पनि म निर्वाचित स्थानीय सरकारको प्रतिनिधि हुँ अनुभव त अवश्य भएको छ । कामको कुरा गर्दा देश कर्मचारीतन्त्रले चलाइरहेको र अब चाहि जनप्रतिनिधि आईसके पछि महशुस हुने गरी काम गर्नु पर्छ भन्ने मलाई लाग्छ । त्यही अनुसार हामी अगाडि पनि बढिरहेका छौ । प्राविधिक मित्रहरुलाई पनि म आग्रह गरेको छु । अब त्यो बिगत नसम्झउँ आउँदा दिनहरु सम्झनु पर्छ । अहिले संबिधानले दिएका जुन अधिकार र कार्यक्षेत्र, स्थानीय तहमा आएका छन् त्यसले गर्दा पनि अब सबैको समझदारी सहमतिमा अघि बढ्दा सेवाग्राहीलाई चुस्त दुरुस्त रुपमा सेवा दिन सकिन्छ ।

 चुनावको बेलामा जनता संग गरिएका बाचाहरु कति पुरा गर्न सक्नुभयो ?

अब एकै वर्षमा सबै बाचा पुरा गर्न सकिन्छ भन्ने त होइन हाम्रो बाचा ५ वर्ष सम्मको हो । त्यसले गर्दा हामी त्यो बाचा पुरा गर्ने प्रयत्नमा लागि रहेका छौ । मैले केही बस्तीमा के पनि भन्ने गरेको छु भने चुनावको बेलामा गरिएका बाचाहरु हामी क्रमस पुरा गर्ने क्रममा छौ । तपाईले धैर्यधारण गर्नुपर्ने छ र हामी दाबीका साथ भन्छौ त्यो बाचा पुरा गर्छौ ।

 मुलुक झण्डै दुई दशक जनप्रतिनिधि विहिन भयो । कर्मचारीले देश चलाउँदा विकास हुन नसकेको हो भन्ने राजनीतिक पार्टीको आरोप पनि थियो । तर अहिले मुलुकले जनप्रतिनिधि पाएको छ । पहिले र अहिलेमा केहि फरक पाउनु भयो ?

के छ भने जनताको चाहना आफु वडा कार्यलयमा जादा साथ काम हुन पर्छ भन्ने छ । हामी पनि त्यही चाहि रहेका छौ । जनताले छिटो छरितो सेवा सुविधा पाउनु पर्छ भन्ने । हाम्रो यो मान्यता पनि हो । र आएका सेवाग्राहीलाई हुने कामलाई छिट्टै गरिदिनुहोस, नहुने कामलाई चाही यो यो कारणले हुन सकेन यो मिलाएर आउनु होस भन्नुपर्छ भनेर मैले कर्मचारी मित्रलाई पनि भनेको अवस्था छ । यो करिव २ दशकमा जनताका कामहरु कर्मचारीले गर्दै आउनुभयो । कतिपय कामहरु राम्रा पनि छन् । कतिपय कामहरु विवादित पनि रहे । तथापी उहाँहरुले गरेका कामलाई राम्रै भन्नु पर्छ । तर, अब चाहि जनप्रतिनिधी आईसके पछि हामी जनप्रतिनिधीले जनतालाई यसको प्रत्याभुती दिलाउन सक्नु पर्छ । सेवाग्राहीका भावना, उहाँहरुको भनाईलाई कदर गर्नुपर्छ । नियम कानुनको बारेमा पनि जानकारी गराउनु पर्छ भनेर भनेको अवस्था छ ।

 तपाईको कार्यकाल लगभग एक बर्ष पुगे संगै नयाँ आर्थिक बर्ष पनि शुरु हुन लागेको छ ? अबको एक बर्ष तपाईले नगरबाट के कस्ता काम गर्ने योजनामा हुनुहुन्छ ?
हामी नयाँ आर्थिक वर्ष २०७५÷०७६ का नयाँ कार्यक्रमहरु बनाउने तयारीमा छौ । केन्द्र सरकारबाट आउने बजेट बिगतको भन्दा केही घटेर आएको अवस्था छ । प्रदेशको संरचना पनि भैसकेको हुनाले प्रदेश सरकारबाट पनि केही बजेट आउने हामीले सम्भावना देखेका छौ । हाम्रो आन्तरिक स्रोतको पनि बजेट बन्छ । त्यस कारणले आगामी वर्षको बजेट बनाउँदा अहिले जुन छुटेका छन ति सबैलाई समेटेर सबैलाई समाबेश गर्ने गरी यहाँका विपन्न, पिछडिएका वर्ग र जातीलाई समेटेर योजाहरु बनाउने र कार्यक्रमहरु लैजाने योजना छ । अलि ठुला योजनाहरु बनाएर ल्याउनुस भनेर मैले वडा अध्यक्षज्यूहरुलाई भनेको अवस्था छ । उहाहरुले पनि योजना बनाउँदासकेसम्म २ वटा टोलहरुलाई छुने गरी योजना बनाउँनुस, राम्रा योजना बनाउँनुस भनेर मैले आग्रह गरेको अवस्था छ । त्यही अनुसारका योजनाहरु आएमा विगतका अनुभवलाई लिएर योजनाहरुलाई ठुला आकारमा लैजाने र बजेटको आकार पनि त्यही अनुसारको बृद्धी गरेर लैजाने हाम्रो सोच रहेको छ ।
 ५ वर्षमा बुद्धभूमि नगरपालिका कस्तो बन्ने छ ?

५ वर्षभित्र बुद्धभूमि नगरपालिकामा सबको समस्या अन्त्य हुनेछ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि केही परिवर्तन भएको देख्नुहुनेछ । साथै एउटा समृद्ध नगरको रुपमा बुद्धभूमि नगरपालिकालाई पाउँनुहुनेछ ।

 र अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सबै भन्दा पहिले त म आर्थिक खबरका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यस बुद्धभूमि नगरपालिकामा भए गरेका विषय र आउने वर्षका कार्यक्रमहरुमा जिज्ञासा राख्ने अवसर दिनुभएकोमा । काम गर्ने शिलशिलामा केही कुराहरु नसमेटिएका पनि हुन सक्छन, केही छुटेका हुन सक्छन् । त्यस्ता बिषयहरुमा यस नगरबासीबाट मलाई सल्लाह सुझावको रुपमा केही कुराहरु भनिदिनुभयो भने अझै प्रष्ट रुपमा सच्चिएर, समेटिएर जाने मौका मिल्नेछ ।

प्रकाशित मिति : ४ असार २०७५ सोमबार ००:००  १२ : ५९ बजे