१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

पाँच वर्ष भित्र वाचा पुरा हुन्छन : मेयर अधिकारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा रहेको शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीको जन्म वि.सं. २०१० सालमा भएको हो । लामो समय सम्म शिक्षक पेशाको रुपमा कार्यरत अधिकारी शिक्षण पछि त्यागेर पूर्णकालिन राजनीतिमा लाग्नुभएको हो । विं.सं. २०५४ सालको तत्कालिन स्थानीय निकायको निर्वाचनमा साविक शिवपुर गाविसको अध्यक्षमा निर्वाचित अधिकारी पुराना जनप्रतिनिधिको रुपमा परिचित हुनुहुन्छ । यद्यपी विं.स. २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेद्वार बनेको अनुभव अधिकारी संग छ । पहिलो संविभानसभाको निर्वाचनमा धेरै मतान्तरले पराजित भएपनि दोस्रो संविधानसभाको चुनावमा झिनोे मतले पराजित हुनुभएको थियो । तर, विं.सं. २०७४ सालको स्थानीय तहको चुनावमा भने अधिकारी मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँ शिवराज नगरपालिकाको मेयर पदमा अत्याधिक मतका साथ विजय हासिल गर्नुभएको हो । समाजिक र राजनीति क्षेत्रमा ठुलो योगदान गर्नुभएका अधिकारी निर्वाचित भएको करिव एक वर्ष वित्न लागेको छ । एक वर्ष बित्दै गर्दा आफुले धेरै अनुभव बटुलेको उहाँ बताउँनुहुन्छ । राजनीतिक यात्रा, विकासका योजना, जनताका चाहना लगायतलाई पुरा गरेर आफु एक सक्षम नगर प्रमुख बन्ने चाहना उहाँको छ । पहिला राजनीतिक यात्रा, पछि नगर प्रमुख रहँदाका अनुभव सँगै एक वर्षे निर्वाचित जनप्रतिनिधिको कार्यकाललाई समेटर ‘आर्थिक खबर’का लागि सहकर्मी माधव बेल्वासेले गरेको कुराकानी ।
 बितेका एक बर्षलाई नियाल्दा तपाईले कस्तो अनुभव गर्नुभयो ?

लामो समयको अन्तराल पछि स्थानीय सरकारले जनप्रतिनिधि पाएको अवस्था हो । मैले मुख्य त यो एक वर्षलाई सिकाइको रुपमा हेरेको छु । सुरुमा केही जटिल समस्या आए । एका तर्फ म पहिले देखी नै जनताको काम गरिरहेको हुँदा पनि हार खाने अवस्थामा पुगेको छैन । समस्या त धेरै नै आउँछन । त्यसमा पनि भने जस्तो स्रोत साधनहरुको कमी । त्यसैले गर्दा समस्या आएका छन तर पनि हामी जनताको काम र सेवाको लागि निर्वाचित भएका हौ । त्यसैले सधै जनताको कामलाई उच्च स्थानमा राखेर काम गरिरहेका छौ । यसरी हेर्दा विगत एक वर्षमा स्थानीय चुनाव प्रादेशिक चुनाव, केन्द्रीय चुनाव सम्पन्न भए । समग्रमा एक वर्षे यात्रामा धेरै अनुभव गर्न पाइयो ।

 जनताको बीचमा गरिएको बाचा पूरा गर्न सक्नुभयो ?

साच्चिकै भन्नु पर्दा चुनावको बेलामा जनता समक्ष धेरै वाचा गरिएको छ । वाचा गरेका कुराहरु एक वर्षमा पुरा हुदैनन् । म तपाईलाई सुरुमै भनिसकेको छु यो एक वर्ष सिकाईको समय भयो । मैले गरेका वाचाहरु अधिकांश त सुरु भइसकेका छन । कतिपय कामहरुलाई केही अफठ्यारो चाही हुँदो रहेछ । तर म यस नगरपालिका भित्र बसोवास गर्ने जनता बीच गरेका ति वाचाहरु पाँच वर्ष सम्म पुरा गर्ने छु । जनताले मलाई बिश्वास गरेर यो स्थानमा ल्याउनु भयो भने मैले जनता समक्ष गरेका प्रतिवद्धतालाई जसरी भएपनि पाँच वर्षको अवधिमा पुरा गर्ने छु ।

 एक बर्षलाई फर्केर हेर्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि गरेको कुनै विकास निर्माणको काम छ ?

अवस्य छ । विकासको गति सुरु भएको छ । सुरुकै वर्ष हामीले धेरै काम गरेका छौ । नगरवासीहरुको पुर्ण रुपमा सहयोग पाउँदा हामी धेरै कार्यहरुबाट सफलता पाएका छौ । विशेषः सडक कालेपत्रे, सडक ग्राभेल, सडक निमार्ण । यसरी हेर्दा सुकुम्वासी वस्तीहरुको घरघरमा वाटो निमार्ण गरेका छौ । शिवराज नगरपालिका १ रेन्जरपोष्ट, उमरी, समिति चोक लगायतका स्थानहरुमा सडक कालोपत्रेको काम सकिएको छ । सवैको घरघरमा शौचालय निमार्ण भइरहेको छ । खानेपानी, विद्युत नपुगेको ठाउँमा विद्युत पुगेको छ । स्कुल पाठशालाहरुको व्यवस्थापन गरिएको छ । एउटा मात्र काम नभई हामी चौतर्फी विकासका काम गरेको हुँदा जनताले साचेजस्तो काम गर्न सफल भएकोमा म खुसी छु ।

 मुलुक झण्डै दुई दशक जनप्रतिनिधि विहिन भयो । कर्मचारीले देश चलाउँदा विकास हुन नसकेको हो भन्ने राजनीतिक पार्टीको आरोप पनि थियो । तर अहिले मुलुकले जनप्रतिनिधि पाएको छ । पहिले र अहिलेमा केहि फरक पाउनुभयो ?
झण्डै बीस वर्ष सम्म कर्मचारीतन्त्र बाटै स्थानीय तह चलेका थिए । सवै कर्मचारीहरु गलत हुन्छन भन्नु कुरा गलत हो । केहि कर्मचारी गलत थिए होला तर जनप्रतिनिधिहरुलाई जतिको जिम्मेवारी कर्मचारीलाई नहुँदा शंकाको विषय बनेको हो । जनताको कामको जिम्मेवारी कर्मचारीलाई भन्दा जनप्रतिनिधिहरुलाई बढी हुने गर्दछ । तर, अहिले भष्ट्रचारलाई नियन्त्रण गर्ने प्रयासमा छौ । साना साना झगडाहरुलाई प्रशासन, प्रहरी समक्ष लानुपर्ने समस्यालाई हटाउँदै न्यायिक समितिले न्याय सहितका निर्णयहरु गरेको छ । विकासका काममा जनता आफै लागेका छन् । धेरै योजनाहरु शिलान्यास भएका छन ती योजना छिट्टै समापन हुनेछन र यस नगरपालिकालाई सवै क्षेत्रवाट सम्पन्न गराउन म प्रतिवद्ध छु । नगरभित्रका वडा अध्यक्ष पनि सवै आ आफ्नो काममा व्यस्त हुनुहुन्छ । हामी बाट पनि कहिलेकाही गल्ति भएमा तपाईहरु जस्ता पत्रकारहरुले खबरदारी गर्नुपर्छ । कर्मचारी तथा कोही कतै भष्ट्रचार भएमा जानकारी गारउनु पर्छ । तपाई हामी सबै मिलेर यो नगरलाई नमुना बनाउनुपर्छ ।
 चुनावको बेला चुनाव जित्नकै लागि विभिन्न सपना बाड्नुभएको थियो । ति सपना पूरा होलान कि विपना बन्लान ? जनतामा शंका छ प्रष्ट पार्नुहोस न ?
कसले कहाँ के भन्यो भन्दा पनि हामीले गरेका बाचाको कुरा हो । मैले गरेका बाचाहरु कुनै पनि गलत छैनन र गरेको बाचालाई पूरा गर्न मेरो सम्पुर्ण टिम प्रतिवद्ध रहेको छ । जनतामाझ गएर गरेका प्रतिवद्धता जसरी भएपनी हामीले पुरा गर्ने छौ । सवै जनतालाई चित्त वुझाउने काम हुनेछन । मैले सवै आमनागरिकहरुलाई के भन्न चाहन्छु भने सवै काम एक वर्षमा पुरा हुदैनन् । जुन कामको लागि केही समय अवश्य लाग्ने छ । हामी निर्वाचित भएको त बल्ल एक वर्ष पुग्दै छ । तर पाँच वर्ष सम्म हामी यस नगरपालिकाकालाई समृद्ध नगरपालिका बनाउँने छौ ।

 तपाईको कार्यकाल लगभक एक बर्ष पुगे संगै नयाँ आर्थिक बर्ष पनि शुरु हुन लागेको छ ? अबको एक बर्ष तपाईको नगर वा गाउँबाट के कस्ता काम गर्ने योजनामा हुनुहुन्छ ?

निर्वाचित भएको अब दुई वर्षमा लाग्दै छ । हामीले समावेशी हिसावले विगतको दिनमा जितेर आइएको थियो । बाटोघाटोमा अलि बढी वजेट विनियोजन गरियो । अब यस आर्थिक वर्षमा भने शिक्षा, स्वास्थ्य, कृषि, यातायातमा समानुपातिक रुपमा काम अघि वढाउने र लक्षित वर्गको लागि महिला बालवालिका अपांग लगायतलाई समेटेर सवैको हितमा हुने गरी गर्ने योजना बनाउँने छौ । विभिन्न समुदायका मानिसहरु यस नगरभित्र बस्ने भएकोले सवैलाई समानुपातिक ढंगवाट कार्य गर्ने छौ । यस नगरलाई पाँच वर्ष भित्रको अवधिमा समृद्ध, विकासउन्मुख र सम्पन्न नगरपालिका बनाउने योजना रहेका छन ।

 तपाईले आगामी दिनमा के के काम पूरा गर्ने बाचा गर्नुहुन्छ ?

मुख्य त कृषिलाई प्राथमिकता दिएर यस नगरभित्र रहेका ११ वटा वडाहरुमा प्रत्येक वडालाई १० वटाका दरले सम्पुर्ण वडामा समुहगत रुपमा १० विघा जग्गालाई समेट्ने गरि एउटा बोेरिङ दिनेछौ र कृषिमा आत्मनिर्भर बनाउने हाम्रो अभियान रहनेछ । कृषि, पशु लगायतलाई पनि सहयोग गर्ने र हामीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने छौ । बेरोजगारीको संख्या बढेको हुँदा व्यापार, उद्योग, कलकारखाना संचालन गर्नेलाई सहज ढंगवाट संचालन गर्ने वातावारण मिलाउने छु र मैले कतै अनियमितता, भष्ट्रचार भएको देखेमा मेरो लागि त्यो राम्रो हुने छैन । र, तपाईको यो आर्थिक खबर पत्रिकाबाटै मैले के भन्न चाहन्छु भने समृद्ध नगर हामी सवैको चाहना हो । सवै मिलेर सफल बनाउनु पर्छ । यसमा मेरो जति हात छ, त्यति यस नगरवासीको पनि रहेको हुँदा सवैले आ आफ्नो ठाउँवाट सहयोग गर्नुपर्छ ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  १० : ३४ बजे