२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

धान दिवसको सार्थकता



मायादेवी अनलाइन ।
राष्ट्रिय धान दिवस असार १५ गते विहीबार देशैभर खेत खलियानमा पुगेर मनाइयो । विगत १५ बर्ष देखि मनाउँदै आइएको धान दिवसलाई सरकारले उचित महत्व दिदै आएको छ । खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान दिवस मनाउँनु राम्रो कुरा हो । यद्यपि धान दिवसको बेला खेत खलियानमा टेक्दैमा दिवसले सार्थकता पाउँदैन । वास्तविक किसानले जब सम्म दिवसको महत्व बुज्दैनन् तब सम्म दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । बर्षभरी खेत नटेक्ने तर दिवसको बेला केके नै काम गरे जसरी हिलाम्य हुने प्रथाले समग्र दिवसलाई मनोरञ्जनको माध्यम बनाएको छ । अझ दिवसको बेला आइ रहने विवादले दिवसलाई झन लज्जास्पद गराएको छ । खेत खलीयानमा धान रोपाई गर्न जाने बाहनामा लैगिंक हिंसाका घटना देखिने गरेका छन । यसपाली पनि समाजिक सञ्जालमा त्यस्ता घटना भाइरल भएका छन । यो घटनाले सरकारका मन्त्री सम्मलाई आरोपमा ल्याएको इतिहास आम नेपालीको माझ ताजै छ ।
विं.सं. २०३९÷०४० तिर नेपालले धान बाहिरी देश निर्यात गर्ने गर्दथ्यो । ०४१÷०४२ देखि नेपालले धान आयात गर्न थालेको तथ्याङ्कले देखाउँछ । गत बर्ष मात्रै नेपालले बार्षिक २४ अर्वको धान आयात गरेको तथ्याङक छ । यसले पनि धान दिवसको सार्थकता कति हो प्रष्ट झल्काउँछ । आधुनिकताको प्रभाव संगै खेती गर्ने प्रथा हराउँन थालेको छ । खेतीयोग्य जमिनमा प्लटिङ गरिएको छ । काम गरेर खाने जाँगर मरेको छ । विदेशको चामलमा हाम्रो नजर परेको छ । खेती गर्ने किसानलाई तल्लो दर्जाको नागरिक ठानिन्छ । कसरी धानको उत्पादनमा बृद्धि होला ? यति मात्रै होइन सरकार पनि उतिकै जिम्मेवार देखिन्छ । खेती गर्ने किसानलाई सरकारले सहुलियत ऋण, मेसेनरी औचार, मलखाद समयमा दिन सकेको छैन । त्यसले पनि किसानको खेती प्रतिको रुचि बढेको छैन । किसानका लागि बेला बेला दिने भनेका अनुदानहरु विचौलियाले स्वाम पारेको उदाहरण पनि प्रशस्तै छन ।
धानबालीका लागि प्रयाप्त पानीको सुविधा हुनुपर्छ । प्रयाप्त पानी भएन भने धानबाली राम्रो हँुदैन । विगत केही बर्ष यता वातावरणीय असन्तुलनका कारण मौसममा बदली भएको छ । पहिले पहिले जेठ अन्तिम साता देखि पर्न थालेको बर्षा भदौ सम्म चल्थ्यो । तर अहिले त्यो स्थिती छैन । जसले गर्दा धानबालीलाई असर गरेको छ । हाम्रो खेती प्रणाली भगवान भरोसामा आधारित छ । भगवानले कति बेला आकाशबाट बर्षात गराउँछन भन्ने अपेक्षामा किसानहरु रहेका छन । आकाशे पानीको आशा गर्दा किसानहरु निरासामा परिणत छन् । अब भगवान भरोसे खती होइन व्यवस्थित सिंचाईको सुविधाजनक खेती गरिनुुपर्छ । दशकौ देखि भगवान भरोसे खेती गरिदैं आइएपनि अब सरकारले उचित विकल्प दिनुको विकल्प छैन ।
हरेक बर्ष धान दिवसको अवसरमा लाखौं खर्च गरिदै आइएको छ । भाषणमा कृषिलाई आधुनिकिकरण, व्यवसायिकरण, यान्त्रिकरण गर्ने चर्का चर्का आवाज मात्र निकाल्ने गरिएको छ । यही क्रम यस बर्षको धान दिवसमा पनि चल्यो । प्रधानमन्त्री देखि मन्त्री, राज्यमन्त्री, नेता, मेयर, उपमेयर, कर्मचारी सबैले भाषण ठोके ।
नेपालमा पुराना धानका बीउ विस्तारै लोप हुन थालेका छन । उत्पादन बढ्ने नाममा हाइब्रिड जातका धानको बीउ प्रयोग गरिदै आइएको छ । त्यसले दीर्घकालीन असर नपार्ला भन्न सकिन्न । खुल्ला सीमानाको फाइदा उठाँउदै अवैध धानका बीउ भित्रिरहका छन । स्थानीय प्रशासनको नजर त्यसलाई नियन्त्रण गर्न तर्फ जानुुपर्छ । सरकारले मान्यता दिएका बीउको प्रयोग गर्न तर्फ किसानहरु पनि लाग्नुपर्दछ । स्वदेशी बीउविजनको प्रयोगले उत्पादन बढ्छ । हाइब्रिड जातको धानको प्रयोगले धान राम्रो नफल्न पनि सक्छ । यस कुरामा किसान बेलैमा सचेत हुनुपर्छ ।
धान दिवसलाई दिवसको रुपमा मात्र होइन । अब उत्पादनमा बृद्धि गरेर देखाउने बेला आएको छ । प्रमुख खाद्यन्नबालीको रुपमा रहेको धानखेतीको उत्पादनमा बृद्धि हुने खालको सरकारले पनि योजना बनाउँनु पर्छ । तब मात्र धान दिवसले सार्थकता पाउँनेछ । सरकारले आर्थिक समृद्धिको सपना साकार यदि साच्चिकै पार्ने हो भने कृषिमा आमूल परिवर्तनको खाँचो छ ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ८ : १९ बजे