१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

नगर प्रमुख बन्ने ठुलो ईच्छा छ : वडा अध्यक्ष पौडेल



मायादेवी अनलाइन ।
सुदीप पौडेल सदरमुकाम तौलिहवाको मुख्य बजार क्षेत्रका वडा अध्यक्ष हुनुहुन्छ । नेपालको दोस्रो नगरपालिका कपिलवस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हुनुहुन्छ पौडेल । उहाँले वडा अध्यक्ष स्वतन्त्र रुपमा जित्नुभएको हो । भर्खरका युवा, प्रर्खर बक्ताका रुपमा परिचित वडा अध्यक्ष पौडेल संग आर्थिक खबरका लागि गरिएको कुराकानी ।
 वडा अध्यक्षमा निर्वाचित भएको एक बर्ष तपाईका कसरी विते ?
हामी निर्वाचित भएको एक बर्ष भएको छ । रमाईलो संग यो एक बर्ष वितेको छ । राम्रो लागेको छ जनताको काम गर्न, सेवा गर्न पाईएको छ । त्यो भन्दा पनि यो एक बर्ष अनुभब हासिल गरेर वितेको छ । यो समय सिक्ने अवसर पायौँ ।

 कपिलवस्तु सदरमुकामकै वडाको अध्यक्षमा निर्वाचित भएर काम गर्नुको मज्जा कस्तो हुने रैछ ?
एकदम आनन्द लाग्छ । किनभने यो वडा भनेको नगरपालिकाको मात्र नभई जिल्लाकै नम्बर वान वडा हो । किनकी यो सदरमुकामको पनि मुटु हो । यस वडामा जिल्ला प्रशासन देखी विभिन्न सरकारी कार्यालयहरु अवस्थित छन । त्यसैले यस ठाउँको वडा अध्यक्ष बन्नु नै आफैमा गर्व ठान्दछु । मलाई त्यसै हिसाबले काम गर्न यो वडामा प्रेसर पनि छ ।
 स्वतन्त्र उम्मेद्वारको रुपमा तपाईले चुनाव जित्नुभएको हो यसको श्रेय कसलाई दिनुहुन्छ ?
हाँस्दै …मेरा वडाबासीलाई । जसले मलाई धेरै भन्दा धेरै मत दिई बिजय बनाए । मेरा शुभचिन्तक, साथीभाई, अरु वडाका साथीभाई जसले मलाई यहाँ आएर समर्थन गरे । सबैभन्दा बढी श्रेय त मेरै वडाबासीलाई जान्छ । जसले मलाई यति धेरै मत दिएर बिजय गराए ।

 भर्खरको युवा हुनुहुन्छ राजनीतिमा के कस्ता सम्भावना देख्नुभएको छ ?
लामो श्वास लिदैँ …राजनितिमा त सम्भावना जति पनि छ । एउटा भनाई छ ‘भाग्यभन्दा धेरै र समय भन्दा पहिले कसैले केही पाएको हुँदैन’ । म अहिले वडा नं. १ को वडा अध्यक्ष छु । मेरो सोच के छ भने यस नगरपालिकाको प्रमुख हुन पाए नगरपालिकालाई चेन्ज गराएर नेपालकै दोस्रो पुरानो नगरपालिका राम्रो बनाउँ सक्थे । अहिले पनि कपिलवस्तु नगरपालिकालाई जिल्लाकै नमुना नगर बनाउने गरि आफ्नो ठाउँबाट लागेको छु ।
 एक बर्षको अवधिमा तपाईले के काम गर्नुभयो ?

यो एक बर्षे अवधिमा वडामा धेरै कामहरु भएका छन । बिकास निर्माण भन्नुपर्दा सामान्य पिसिजी नाली सबै वडामा भएका छन । स्थानीय निकायको चुनाब भए देखी सबै वडाका जनताले पनि विकासको महशुस गरेको पाएको छु । त्यस बाहेक हामीले वडालाई सुन्दरीकरण गर्न बिभिन्न पोलहरुमा डस्विनहरु बानेर राख्ने, फोहोर बाहिर नफ्याक्ने गरि जनचेतना जगाउने काम गरेका छौँ । साथै वडा नम्बर १ मा एउटा पार्किङ निर्माण गर्न गईरहेको छु जसले सुन्दरता दिओस ।

 आगामी ५ बर्ष पछि नगरको मेयर बन्ने योजना छ होला नी ?
सबभन्दा पहिले के भन्छु भने हाम्रो यस नगरपालिका तथा बजार क्षेत्र साह्रै दुर्गन्धित छ । यहाँ सरसफाईको कमी छ । अहिलेसम्म पनि पुरानो सरसफाईका विभिन्न कामहरु भैरहेका छन । पहिले कर्मचारीहरुबाट सरसफाई गर्ने काम भएको थियो यो कामको एग्रीमेन्ट असार सम्मको छ । फोहोर नियन्त्रणको लागि निकै कठिनाई भएको छ । कर्मचारीबाट यो काम विगतमा नभएकै हो । अब साउन देखी नयाँ आव देखी तिनीहरुलाई चेन्ज गरेर यस वडाको यो बजार क्षेत्रलाई सुन्दर पारिनेछ । मेरो वडा क्षेत्र मात्र होईन यो तौलिहवाको मुख्य बजार क्षेत्र हो । जिल्लाको सदरमुकाम भएकोले यहाँ जिल्ला भरिका सर्वसाधारण आउने गरेका छन । यहाँ सार्वजनिक शौचालय छैन । शौचालय गर्नका लागि अरु कसैको घरमा रहेको शौचालय माग्नुपर्ने स्थिती छ । अब यस्तो हुन दिन्न । यो समस्यालाई समाधान गर्ने मेरो सोच छ ।
 ५ बर्ष पछि नगरको मेयर बन्ने सोच छ की छैन ?
हाँस्दै ….आफुले मात्र भनेर त के हुन्छ ! तपाई सबैको चाहना भयो भने तक्दिरमा लेखेको छ भने अवश्य भईन्छ ।

 विकास गर्नका लागि नगर प्रमुख नै किन हुनुप¥यो ?

एकदमै यो नगरमा केही गर्ने योजना अबश्य छ । मेरो जन्म यही भएको हो । मेरा हुर्काइ पालनपोषण, पढाई सबै यही भएको छ । यहाँको धेरै माया लाग्छ । र आफु जन्मेको हुर्केको स्थान अबश्य पनि सबैलाई माया लाग्छ । तर मलाई पनि यस नगरमा केही गरौँ भन्ने सोच छ । त्यो गर्नका लागि नगर प्रमुख नै हुनुपर्छ । वडा प्रमुखले कति पो गर्न सक्छ र ? १२ वडामा १ वडालाई मैले बनाउँन सकुला तर सबै सक्दिन । ११ वटा वडालाई मैले बनाउन सक्ने हैसियत पनि छैन । मेरो अधिकार क्षेत्र पनि पर्दैन । मेरो नगरपालिका राम्रो बनाउन नगर प्रमुख बन्ने ठुलो ईच्छा हो ।

प्रकाशित मिति : ३१ असार २०७५ आइतबार ००:००  ५ : ३० बजे