२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बजार व्यवस्थित बनाउ



मायादेवी अनलाइन ।
कपिलवस्तुका प्रमुख व्यापारिक बजारहरु अस्तव्यस्त छन । बढ्दो शहरीकरणको प्रभावले बर्षेनी बजारको जनघनत्व बढ्दै गएको छ । तर, बजारहरु व्यवस्थित हुन सकेका छैनन । जसले सरोकारवालालाई टाउँको दुखाईको विषय बनाएको छ । पूर्व पश्चिम राजमार्गले छोएका जितपुर चानरम्बर, गोरुसिंगे, इमिलिया, चन्द्रौटा बजार कपिलवस्तुका प्रमुख व्यापारिक केन्द्र हुन । तर यी बजारहरु अस्तव्यस्त देखिन्छन । यस्तो हुनुको एउटा कारण हो सार्वजनिक जग्गाको अभाव हुन । जिल्लाका दक्षिणी क्षेत्रभन्दा पूर्व पश्चिम राजमार्गले छोएका उत्तरी क्षेत्रलाई विकास निर्माणका हिसाबले अग्रस्थानमा हेरिन्छ ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वमा रुपन्देही र पश्चिममा दाङ सिमाना सम्मका सबै भूभाग नगरपालिकाले छोएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित सदरमुकाम तौलिहवा पछिका प्रमुख व्यापारिक केन्द्रका रुपमा जितपुर चानम्बर, गोरुसिंगे, इमिलिया र चन्द्रौटालाई लिने गरिएको छ । बजारीकरणमा दैनिक बृद्धि आएको छ । तर बजार व्यवस्थित पार्न स्थानीय तहहरु योजनाबद्ध तरिकाले लागेको देखिदैन ।
वाणगंगा नगरपालिकाको जितपुर चारनम्बरमा बर्सपार्क बनाउने कुरा बर्षौ देखि उठ्दै आएको छ । नगरपालिकाले बर्षेनी बसपार्क बनाउने भने पनि काम थालेको छैन । हरेक बर्षको बार्षिक बजेटमा बसपार्कको कुरा उठ्ने र सेलाउने गरेको छ । नगरपालिकाले यसबर्षको बजेट ल्याई सकेको छ । बजेटको किताब अझै प्रकाशित भएको छैन । असार २१ गते प्रस्तुत बजेट र कार्यक्रममा बसपार्क बनाउने विषयले प्राथमिकता पाएको छैन । विगतका बर्षहरुमा बसपार्क बनाउने भनेर बजेट छुट्याउँने गरे पनि जग्गा अभावको कारण देखाएरै बजेट फ्रिज हुने गरेको थियो । अहिले जनप्रतिनिधि आए संगै बसपार्क व्यवस्थित बनाउन पहल हुन्छ भन्ने आशा पलाएको थियो । तर, बार्षिक बजेटमा बसपार्कको विषयले प्राथमिकता नपाउँदा निरासा थपिएको छ । यहाँ बसपार्क नहुँदा सवारी पार्किङको निकै समस्या छ । सदरमुकाम तौलिहवा जाने प्रमुख गन्तव्यको रुपमा रहेको चारनम्बरमा बसपार्क अनिवार्य जस्तो छ । बसपार्कको अभावमा सवारी साधन यत्रतत्र राखिने गरिएको छ । अझ त्यसमा अटो रिक्साले झनै टाउको दुखाई बनाएका छन ।
वाणगंगा जस्तै बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा पनि बसपार्कको समस्या विकराल छ । छिमेकी जिल्ला अघाँखाची पनि सोही बाटो हुँदै गइन्छ । तर यस नाकामा पनि बसपार्क छैन । सवारीसाधनहरु बाटो वरपर राखिदै आइएको छ । अर्घाखाँची र सुपा देउराली लगायतका धार्मिक स्थल अवलोकनका लागि नेपाल लगायत भारत सम्मका दैनिक हजारौ तीर्थयात्री गोरुसिंगे हुँदै जाने गर्दछन । दिनहुँ सवारी साधनको चाप बढ्दो छ तर वसपार्क छैन । बसपार्क बनाउँने ठाउँ नभेट्दा समस्या आएको बुद्धभूमि नगरपालिका बताउँछ ।
शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा पनि अझै बसपार्क बन्न सकेको छैन । चन्द्रौटालाई औद्योगिक करिडोरका रुपमा लिइन्छ । यस क्षेत्रमा दर्जनौ उद्योेगहरु स्थापना भएका छन । चन्द्रौटा बजार गर्न प्युठान, दाङ, रोल्पा, अर्घाखाँची सम्मका सर्वसाधारण आउने गरेका छन । भारतीय सिमा संग जोडिएको कृष्णनगर नजिकै पर्ने भएको कारण सर्वसाधारणको चाप यहाँ निकै बढ्दो छ । बसपार्क नहुँदा निकै समस्या त भएकै छ सिंगो बजार नै कुरुप बन्दै गएको छ । जग्गा अभावको कारण बसपार्क बनाउन नसकिएको शिवराज नगरपालिका बताउँछ ।
उता प्रमुख व्यापरिक नाका कृष्णनगरमा पनि बसपार्क बन्न सकेको छैन । बार्षिक अरबौंको राजश्व उठाउँने कृष्णनगर नाकामा बसपार्क बनाउने माग उठ्न थालेको दशकौ वितेको छ । कृष्णनगर नगरपालिकाले सार्वजनिक जग्गा अभावको कारण काम अगाडि बढाउन सकेको छैन ।
यसरी जिल्लाका मुख्य बजारमा नै अव्यवस्थित पार्किङ हुनु विडम्वनाको विषय हो । नगरपालिका क्षेत्रभित्र पर्ने बजारहरु व्यवस्थित हुन जरुरी छ । सिंहदरबारको अधिकार गाउँगाउँ आएको छ । स्थानीय तहहरु स्थानीय सरकारको रुपमा छन । केन्द्र, प्रदेशबाट आउँने अनुदान र स्थानीय स्तरबाट उठ्ने राजश्व कार्यान्वयनको तहमा स्थानीय सरकार छन । स्थानीय सरकार नगरको गुरुयोजना निर्माण गरेर बजार व्यवस्थित पार्न अबेर गर्न हुँदैन । नगरको पहिचान भनेका बजार हुन । उद्योगधन्दा, कलकारखाना, बजार राजश्वका मूल स्रोत हुन । उद्योगी, व्यवसायिले हरेक बर्ष राज्यलाई कर तिरिसके पछि सुन्दर, रमणीय वातावरणमा व्यापार, व्यवसाय सञ्चालन गर्न पाउँनुपर्छ । बसपार्क नहँुनुको पीडा यातायात व्यवसायी, सर्वसाधारणलाई त छदै छ त्यो भन्दा बढी समस्या बजार क्षेत्रमा बसेर व्यापार, व्यवसाय सञ्चालन गर्नेलाई छ । अव्यवस्थित पार्किङको समस्याले व्यापार राम्रो नभएको व्यापारीको गुनासो रहदै आएकोछ ।
सार्वजनिक जग्गा अभावको कारण बसपार्क बनाउन नसकिएको जनप्रतिनिधिको भनाई आफैमा विरोधाभाष पूर्ण छ । भनिन्छ, ‘जहाँ इच्छा त्यहाँ उपाए’ । पक्कै पनि हाम्रा बजार आधुनिकताको प्रयोग गरेर भित्राइएका होइनन । न त कुनै इन्जिनियरले गुरुयोजना बनाएर निर्माण भएका हुन । बजारको नजिक सार्वजनिक जग्गा नहुने देशव्यापी समस्या नै हो । तर, सार्वजनिक जग्गा अभावले बसपार्क बनाउन सकिएन भनेर उम्कन स्थानीय सरकार मिल्दैन । स्थानीय तहले जग्गा किनेर हुन्छ या कसैसंग मागेर हुन्छ बसपार्क बनाएर बजार व्यवस्थित पार्न तर्फ पहल गर्न जरुरी छ । यदि बजेटको कमी भए प्रदेश तथा केन्द्र सरकार संग पहल गरेर भएपनि जीतपुर चारनम्बर, गोरुसिंगे, चन्द्रौटा र कृष्णनगरमा बसपार्क नबनाई सुखै छैन ।
अहिले स्थानीय तहले आव ०७५÷०७६ को बजेट तथा कार्यक्रम पारित गरिसकेका छन । भौतिक पूर्वाधारमा बढी जोड दिएर बजेट ल्याइएको छ । भौतिक पूर्वाधार भनेको बाटोघाटो मात्र होइन । त्यता तर्फ पनि ध्यान दिइयोस । स्थानीय तहले लामो समय देखि बजारहरु अव्यवस्थित भएको देख्दा देख्दै बजार व्यवस्थित पार्ने ठोस कदम ल्याउन नसक्नु विडम्वनाको विषय हो । अब कत्ति ढिला नगरि बजार व्यवस्थित पार्न तिर ध्यान देउ ।

प्रकाशित मिति : २३ श्रावण २०७५ बुधबार ००:००  ३ : ११ बजे