१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज देखि काठमाण्डौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन शुरु, शुक्रबार घोषणापत्र जारी हुने



काठमाडौं ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु हुँदैछ ।

होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे बिमस्टेक चौथो शिखर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनलगत्तै सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । त्यसपछि अरु सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

विहीबार प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा सहभागि हुन काठमाडौं आइपुगेका सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको सम्मानमा होटल हायातमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

शुक्रबार राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई ‘रिट्रिट’ दिइनेछ । रिट्रिट सोल्टी होटलमै दिइने तयारी छ । रिट्रिट सकिएपछि बिमस्टेक सम्मेलनमा सहमति जुट्ने समझदारीपत्रमा हस्ताक्षर हुनेछ । ‘ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति सचिव र मन्त्रीस्तरीय बैठकमा भइसकेको छ । यही सहमतिलाई शिखर सम्मेलनले अनुमोदन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार नै शिखर सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गर्नेछ । समापन हुनुअघि प्रधानमन्त्री ओलीले बिमस्टेकको अध्यक्षता श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गर्नुहुनेछ । शिखर सम्मेलन सकिएपछि राष्ट्रप्रमुख तथा सरकारप्रमुखबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।

शुक्रबार नेपाल र श्रीलंकाका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि नेपाल र श्रीलंकाबीच एउटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । शुक्रबार नै नेपाल र भारतका प्रधानमन्त्रीबीच पनि द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि रक्सौल–काठमाडौं रेलमार्ग र बल्क कार्गो गरी दुई समझदारीपत्रमा नेपाल र भारतका अधिकारीहरूले हस्ताक्षर गर्ने कार्यक्रम छ । बिमस्टेकमा सहभागी हुन काठमाडौंमा आएका श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको पनि भ्रमण गर्नुहुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  २ : ३७ बजे