६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

ओखलढुंगामा पहिरोले घर पुर्दा चार जनाको मृत्यु



ओखलढुंगा ।

मोलुंग गाउँपालिका–८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चारजनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुर्दा रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो।

बुधबार राति गएको पहिरोले घर पुरेपछि चारैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन्।

उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए। पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए।

एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ। रातिको घटना भएकाले ढिलागरी सूचना आएको मोलुंग गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताए।

जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको उनले जनाए । बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चारैजनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।

उनले भने, ’रातिको घटना रहेछ, सूचना पाउनासाथ प्रहरी टोलि खटिएको हो।’ उद्धार गरिएका शव पोष्टमार्टम गराई आफन्तलाई बुझाइने शर्माले बताए। दुई दिनदेखि लगातारको वर्षाका कारण ओखलढुंगामा पहिरोको जोखिम बढेको छ।स्थानीय प्रशासनले सर्तक रहन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  ७ : ०५ बजे