१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

असोज भित्रै सुठौली ठूलो भन्सारमा रुपान्तरण



दिपक अनुरागी, कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा अवस्थित सुठौली छोटी भन्सार कार्यालय अबका केही महिना पछि ठूलो भन्सार नाकामा स्तरउन्नती हुने भएको छ । नेपाल सरकारको मन्त्रीपरिषद बैठकबाट निर्णय भई ठूलो भन्सार नाकामा स्तर उन्नती भएको सुठौली नाकाले असोज महिना भित्र ठूलो भन्सारको रुपमा काम थाल्न लागेको हो ।
अहिले कृष्णनगर भन्सार कार्यालयको मातहतमा रहेको यो नाका असोज महिना भित्रै आफ्नै कार्यालय स्थापना भई काम थाल्ने कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्य विक्रम खड्काले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ठूलो भन्सार नाका बनाउने सरकारले निर्णय गरिसकेको भएपनि अहिले अर्थ मन्त्रालयले भन्सारको कार्यालय र कर्मचारी व्यवस्थापनको काम गरिरहेको भन्सार प्रमुख खड्काले जनाउनुभयो ।
सुठौली छोटी भन्सारमा सबैभन्दा ठूलो समस्या जग्गा व्यवस्थापन रहेको छ । सार्वजनिक जग्गा अभावको कारण सिमानाका देखि एक किलोमिटर टाढा भन्सार कार्यालय छ । लामो दुरीमा भन्सार कार्यालय हुँदा तस्करी नियन्त्रणमा समस्या हुँदै आएको छ ।
ठूलो भन्सार कार्यालय भएपछि सवारीसाधनको चाप बढ्ने हुँदा नाकालाई थप व्यवस्थित पार्नुपर्ने हुन्छ । त्यसैले अहिले सिमानाका मै जग्गा खोज्ने काम भैरहेको भन्सार कार्यालयको भनाई छ ।
केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला संग जग्गा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको भन्सार प्रमुख खड्काले बताउनुभयो । असोज १५ गते भित्रै जग्गा खोजेर असोज भित्र सुठौली नाकाबाट काम सुचारु हुने उहाले बताउनुभयो । अर्थमन्त्रालयबाट कर्मचारी खटाउने काम भैरहेको उहाले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम संग जोडिएको यो नाका व्यवस्थित भए संगै व्यापार व्यवसायमा सहज हुने व्यापारीको अपेक्षा छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५ शुक्रबार ००:००  १ : ४९ बजे