१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस एण्ड मिस्टर उपाधि विजेताको भावी योजना के ?



हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुमा पहिलो पटक आयोजना गरिएको सौन्दर्य प्रतियोगिताको उपाधी एलिसा मल्ल र रुपेश नेपालीले हात पारेका छन् । मिस एण्ड मिस्टर कपिलवस्तु २०७५ को विजेतामा मिस तर्फ एलिसा मल्लले ताज पहिरिएकी छन् भने मिस्टर तर्फ रुपेश नेपाली विजेता बनेका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगामा शनिबार राती सम्पन्न मिष्टर एण्ड मिस कपिलबस्तु २०७५ को ग्राण्ड फिनालेमा १५ जना प्रतिस्पर्धी रहेका थिए ।

२० वर्षिय एलिसा मल्लले मिस कपिलवस्तुको उपाधी जितेपछि आफु निकै खुशी भएको बताइन । वाणगंगा ७ निवासी एलिसा बुटवल स्थित एक्सीस कलेजमा विविए विआईमा अध्ययनरत छिन् । मल्लले पारिजात माविबाट एसइइ गरेकी थिइन् । आफुले सोचे अनुसार मिस कपिलवस्तुमा सफलता मिलेको प्रति खुशी व्यक्त गर्दै कपिलवस्तुमा प्रतिभावान व्यक्तित्वको खोजी गरेकोमा आयोजक संस्था क्यानभासलाई धन्यवाद व्यक्त गरिन् । विजेता मल्ल यसअघि काठमाण्डौमा पनि व्यक्तित्व प्रदर्शन कार्यक्रम पनि सहभागी भएकी थिइन । मायादेवी अनलाइन संग कुराकानी गर्दै उनले भनिन्, “देश र समाजका लागि योगदान गर्ने लक्ष्य छ ।” उनले अगाडी भनिन्, आर्दश नारी बनेर समाज रुपान्तरणमा लाग्ने छु ।

मिष्टर उपाधी विजेता १८ वर्षीय रुपेश नेपालीले मिस्टर कपिलवस्तुको उपाधी जितेपछि निकै उत्साहित भएको बताए । वाणगंगा ७ बनगाई निवासी रुपेश होराइजन माध्यमिक विद्यालय सिद्धिपुरमा १२ कक्षामा अध्ययनरत छन् । मिस्टर कपिलवस्तुको उपाधी हात पार्दै अन्तर निहित क्षमता प्रर्दशन गरेर आफु सफल हुनसकेको बताए । उनले आफु भविष्यमा राम्रो गायक बन्ने र नेपाल आइडलमा सहभागी हुने सोच रहेको बताए ।

प्रतियोगिताको ग्राण्ड फिनालेमा मिस कपिलवस्तु तर्फ प्रतिभा सेन फस्ट रनर अप (उपविजेता) र मनिका हमाल सेकेण्ड रनर अप हुन सफल भएकी थिइन् । त्यस्तै संगम बुढा मगर फस्ट रनर अप तथा समिर राना मगरले सेकेण्ड रनर अपको उपाधी जितेका थिए भने अशोक क्षेत्री अर्गानाइजेशन च्वाइसमा परेका हुन् ।

सौन्दर्य प्रतियोगिताको विजेता एलिसा मल्ल र रुपेश नेपालीले नगद २५÷२५ हजार सहित सम्मान तथा अन्य पुरस्कार पाएका थिए । प्रतियोगिताको उपविजेतालाई १५÷१५ हजार तथा सेकेण्ड रनर अपलाई १०÷१० हजार नगद सहित अन्य पुरस्कार तथा प्रसंशा पत्रले सम्मान गरिएको क्यानभास म्यानुअल प्लेयर्सका प्रमुख विसु खाँणले जानकारी दिए । क्यानभासका प्रमुख खाँणका अनुसार युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न आफनो संस्थाले गरेको प्रयास सफल भएको बताए ।

मिस एण्ड मिस्टर कपिलवस्तुको ग्राण्ड फिनालेको निर्णयकको रुपमा मिस नेपाल अफ २०१७ की रजिना श्रेष्ठ, मिस नेपाल एसिया प्यासिफिक ईन्टरनेशनल २०१७ की साहारा बस्नेत, मोडल प्रोडुसर सृष्टि घिमिरे, सामाजिक अभियान्ता बिष्णु थापा रहेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७५ आइतबार ००:००  ४ : ३५ बजे