१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार सम्मेलन गरी दशौ कपिलवस्तु महोत्सवको मिति सार्वजनिक


२ आश्विन २०७५ मंगलबार ००:००  

0
Shares

बाबुराम रायमाझी, वाणगंगा
कपिलवस्तु उद्योग वाणिज्य संघले दशौ कपिलवस्तु महोत्सवको एक समारोहबीच पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलन मार्फत आउदो मंसिर १८ देखि पुस १ गते सम्म कपिलवस्तुको बुद्धरंगशालामा दशौ कपिलवस्तु महोत्सव आयोजना हुने बताइएको छ । संघको आयोजनामा दशौ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७५ संचालनको तयारीबारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । “कृषि र पर्यटनमा आधारित उद्योग व्यापार, समृद्ध र सुखी कपिलवस्तु निर्माणको आधार” भन्ने मुल नाराका साथ आयोजना हुने दशौ कपिलवस्तु महोत्सवलाई प्रादेशिक महोत्सवको रुपमा विकास गरिने आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक उमानाथ पौडेलले महोत्सवलाई समय सापेक्ष प्रविधीयुक्त बनाउदै व्यापार प्रवर्धन, ज्ञानसिप अभिबृद्धि तथा मनोरञ्जनमुलक बनाउने तयारी गरेको जानकारी दिए । त्यस्तै महोत्सवका निर्देशक रुक बहादुर भुसालले महोत्सवलाई सफल र भब्य बनाउन सरोकारवाला सवैमा आग्रह गरेका छन् । दशौ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको १ सय ५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ भने ३४ सदस्यीय सचिवालय समिति गठन भएको छ । दशौ कपिलवस्तु महोत्सवलाई प्रभावकारी र सहज बनाउन २८ वटा विषयगत उपसमिति निर्माण गरिएको छ । महोत्सवमा विभिन्न क्षेत्रका २ सय बढि स्टलहरु रहने र व्यापारिक हबको रुपमा विकास गरिने स्टल संयोजक हुमनाथ पौडेलले बताए । विगतका महोत्सवमा जस्तै कपिलवस्तु डान्स आइडल, खेलकुद, स्थानीय सस्कृति तथा कृषि, पर्यटनलाई विशेष जोड दिइने संघका महासचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।
यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघले स्थानीय संघसंस्था, समाजसेवी तथा सरोकारवालासंग महोत्सव संचालनको तयारीका सम्बन्धमा भेला सम्पन्न गरेको छ । भेलामा दशौ कपिलवस्तु महोत्सवलाई उत्कृष्ट र प्रदेशकै पहिचान दिने गरी संचालन गर्न सुझाव सल्लाह दिएका छन् । भेलामा स्थानीय समुदायको सहभागीतालाई जोड दिदै महोत्सवलाई कसरी आकर्षक र सुव्यवस्थित बनाउन सकिन्छ भन्ने बारे छलफल गरिएको थियो । दशौ कपिलवस्तु महोत्सवमा आर्थिक पारदर्शीता र मितव्ययीता निती अवलम्बन गर्दै श्रोत व्यवस्थापनको तयारीमा जुटेको महोत्सवका आर्थिक तथा लेखा व्यवस्थापन संयोजक मोहन न्यौपानेले बताए । मंगलबारै संघको नियमित वैठक बसेर महोत्सव लगाएतका विविध विषयमा निर्णय गरिएको सचिव मनोज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ४ : १७ बजे