५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कृषि मन्त्री खनाल भन्छन्, युवा विदेशिएकाले उत्पादनमा कमी



काठमाडौँ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकका युवा विदेशीएका कारण नेपालको उत्पादनमा कमी आएको बताउनुभएको छ ।
उपभोक्ता अधिकारका लागि सक्रिय रहँदै आएको संस्था कन्जुमर आइ नेपालले मंगलबार काठमाण्डौमा आयोजना गरेको ‘कृषिजन्य उत्पादनमा यन्त्रीकरण, गुणस्तरिय मल, विषादी न्यूनिकरण र उपभोक्ता अधिकार’ विषयक कार्यशाला गोष्ठीमा उहाँले युवा देशमा रहेर कृषि पेशा अगाल्नेभन्दा विदेश पलायन भएकाले उत्पादन कमी भएको बताउनुभएको हो ।
उहाँले सरकार उपभोक्ताको स्वास्थ्यसँग सरोकार राख्ने कृषि उपभोगको सवालप्रति सदैव सचेत र चनाखो रहँदै आएको बताउनुभयो । मन्त्री खनालले नेपालको कृषि योग्य जमिनलाई सहकारिताको आधारमा भोग गर्दै जाने अथवा चक्लाबन्दी गर्ने प्रणालीको अवलम्बन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपालमा उत्पादित कृषि वस्तुहरुमा रासायनिक मलको प्रयोग हुँदै गएको भन्दै यसलाई विस्तारै कम गर्दै जानुपर्ने बताउनुभयो । “रासायनिक मल हालिएका वस्तुहरु विदेशबाट बढी आयात हुने गरेका छन,” उहाँले भन्नुभयो ।
कार्यक्रममा मेकानिकल इञ्जिनियर देवदास मानन्धर, कृषि विज्ञ भगवान खतिवडा, कञ्जुमर नेपालका अध्यक्ष बिमला खनाललगायतले कृषिमा यान्त्रीकरण, कृषिमा रासायनिक मलको अवस्था, कृषि बालीमा विषादीको प्रयोगलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७५ मंगलबार ००:००  ११ : २६ बजे