५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश प्रमुख र मुख्यमन्त्रीको शुभकामना सन्देश



बुटवल ।

प्रदेश ५ का प्रमुख उमाकान्त झाले चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आजको दिनमा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भएर समृद्ध प्रदेश सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको आन्दोलनमा ज्यान उत्सर्ग गर्नुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभएको छ ।

यसैगरी प्रदेश ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

आन्दोलनका क्रममा भएका घाइते र बेपत्ता योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्दै उहाँले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको सन्देशमा उल्लेख गर्नुभएको छ । (रासस)

प्रकाशित मिति : ३ आश्विन २०७५ बुधबार ००:००  ७ : ११ बजे