१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भारतका सुप्रसिद्ध गायक कुमार सानु लुम्बिनी भ्रमणमा



बुटवल ।
भारतका सुप्रसिद्ध गायक कुमार सानुले पहिलोपटक बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । रुपन्देहीको मणिग्राममा आयोजित कन्सर्टमा प्रस्तुति दिन आउनुभएका कुमार सानुले विहीबार दिउँसो लुम्बिनी भ्रमण गर्नुभएको हो ।
आयोजकले शुक्रबारको कन्सर्टपछि शनिबार लुम्बिनी घुमाउने योजना बनाएको भएपनि उहाँ रुपन्देहीमा आउने वित्तिकै पहिले लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन गर्ने इच्छा व्यक्त गरेअनुसार विहीबार नै भ्रमण गर्नुभएको हो । उहालाई लुम्बिनीमा लुम्बिनी विकास कोषका कर्मचारीले स्वागत गर्दै अवलोकन गराएका थिए ।
मायादेवी मन्दिर दर्शन र अशोक स्तम्भ अवलोकन पछि उहालाई लुम्बिनीको इतिहास र विविध पक्षबारे कोषका कर्मचारीले जानकारी दिएका थिए ।
एक घण्टा जति भ्रमणपछि कुमार सानुले लुम्बिनीकै एक होटेलमा खाना खाएर बुटवल आई पत्रकार सम्मेलनमा सरिक हुनुभएको हो । लुम्बिनी आएर आफूले मायादेवी मन्दिर दर्शन, अशोक स्तम्भ, शान्ति दीप लगायतका महत्वपूर्ण वस्तुहरुको प्रत्यक्ष अवलोकन गर्न पाउंदा आनन्द महसुस र बेग्लै अनुभूति भएको बताउनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ५१ बजे