१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेसमा गच्छदार समुहको भुमिका के ? कार्यकर्ताको खोजी, सभापति नै बेखबर



परासी ।
नेपाली कांग्रेसमा समाहित भएको तत्कालिन फोरम लोकतान्त्रिकका नेताले पश्चिम नवलपरासीमा आफ्ना पुराना कार्यकर्ताहरुको नामावली संकलन गर्न थालेको छ । पार्टी कांग्रेसमा मिसिए पनि संगठनको जिम्मेवारी नपाएपछि क्रियाशील सदस्यता दिलाउन नामावली संकलन गरिएको पूर्वफोरम नेताहरु बताउँछन् ।
पूर्वफोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्ना २० हजार बढी कार्यकर्तालाई कांग्रेसको क्रियाशील सदस्यता दिनुपर्ने केन्द्रमा माग गरेपछि जिल्ला तहका नेताहरु कार्यकर्ताको नाम संकलन गर्न जुटेका हुन् ।
तत्कालिन फोरमका जिल्ला अध्यक्ष सुवासचन्द्र गिरीका अनुसार पूर्व फोरम लोकतान्त्रिकले कार्यकर्ताको नामावली पठाउन जिल्लामा निर्देशन नै दिएपछि नाम संकलन सुरु भएको हो । जिल्लाबाट पाँच सय कार्यकर्ताको नामावली पठाउन पूर्व फोरम लोकतान्त्रिकको सर्कुलर छ । सोही संख्यामा जिल्ला नेताले नामावली संकलन गरिरहेका छन् ।
नामावली संकलन गर्दा पूर्व फोरम लोकतान्त्रिकको संख्या बढी देखाउन पुराना कांग्रेस कार्यकर्ताको नामावली पनि राखिएको कांग्रेस संस्थापक समुहका नेताको गुनासो छ । आफ्नै कार्यकर्ताले नामावली संकलन गरेको कुरा नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापति अर्जुनकुमार पोखरेल आफूलाई जानकारी नभएको बताउनुभएको छ ।
संकलन गरिएको नामावली र संख्याबारे जिल्ला समितिलाई जानकारी नदिइएको उहाको गुनासो छ । तत्कालिन फोरम लोकतान्त्रिकका नेता भने जिल्लामा नामावली नदेखाई केन्द्रमै पठाउने तयारीमा छन् ।

प्रकाशित मिति : १० आश्विन २०७५ बुधबार ००:००  १ : ४८ बजे