२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

बीस बर्षिय किशोरीले गरिन बावुको पितृकार्य ! समाजमा चुनौती मोलेकी उनले के भन्छिन ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुकी एक किशोरीले आफ्नो दिवंगत बुबाको श्राद्ध अर्थात पितृकार्य गर्नुभएको छ । वाणगंगा नगरपालिका ९ भलवाड निवासी २० बर्षिय पुजा खनालले आज आफ्नो पिताको श्राद्ध गर्नुभएको हो । छोराले मात्र बुबाको श्राद्ध गर्नु पर्छ भन्ने मान्यतालाई चिर्न खनालले स्वर्गिय पिता टिकाराम खनालको पितृकार्य गरेको उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
अंग्रेजी बिषय लिएर सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीमा बिएड चौथो बर्ष अध्ययन गर्दै गरेकी खनालले भन्नु भयो–पितृकार्य तथा देवकार्र्य पुरुषहरुले मात्र गर्नुपर्छ भन्ने छैन, त्यो केवल अन्धविश्वास हो, जन्म दिने आमाबुबा छोराछोरी दुवैको लागि उत्तिकै महत्वपूर्ण हुन्छन्, बाबु आमाको लागि छोराले जेजे गर्न सक्छन् त्यो सबै छोरीले पनि गर्न सक्छन् ।
समाजमा छोराले मात्र पितृकार्य गर्ने समाजको अगाडी उहाँले प्रश्न गर्नुभयो ? छोराले बाबुको श्राद्ध गर्न हुन्छ भने छोरीले किन हुँदैन । यही परम्परागत मान्यतालाई चिर्न मैले समाजमा चुनौति मोलेकी हुँ । उहाँले हामीसंग थप भन्नुभयो । घरमा आमासंगै ६ वटी दिदी वहिनी भए पनि दाजुभाई हुनहुन्न, घरमा छोराको अभाव महसुष नहोहोस् भनेर मैले सो कार्य गरेकी हुँ ।
परिवारमा कान्छो अर्थात सातौँ सन्तानको रुपमा रहनु भएकी खनालले आफु ८ वर्षकी हुदा २०६३ सालमा बुबा दिवंगत भएपछि आफ्नो घर सम्हाल्दै आउनु भएको छ । उहाँको घरमा ५ दिदीहरु भए पनि सबैको विबाह भैसकेकाले घरको सम्पूर्ण जिम्मेवारी आमासंगै खनालले लिनु भएको छ । यो कपिलवस्तुमा पहिलो घटना हो । यसै विषयमा खनाल संग हाम्रा प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले रेडियो मायादेवीका लागि गर्नुभएको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : १२ आश्विन २०७५ शुक्रबार ००:००  २ : २७ बजे