५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वाणगंगामा आज देखि डेंगु रोग नियन्त्रणको अभियान शुरु



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा डेंगु रोग नियन्त्रण गर्ने अभियान शनिबार देखि थालिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाद्धारा आयोजित डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमूखिकरण कार्यक्रममा अभियानबारे जानकारी दिइएको छ ।
बुङ्चीमा भएको अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर मंगल प्रसाद थारुले अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने बताउनुभयो । डेंगु रोग खतरनाक रोग भएकोले यसबाट बच्न सबै सचेत हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
अभियान शनिबार देखि शुरु भई आइतबार सम्म सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण घिमिरेले बताउनुभयो । नगरपालिकाका वडा नं. १, २ र ४ मा अभियान थालिने गरिएको उहाले बताउनुभयो ।
स्वास्थ्य शाखाका कार्यक्रम प्रमुख कमल ज्ञवालीले डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमूखीकरण दिनुभएको थियो । अभियानलाई सार्थक बनाउन महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र प्रहरी परिचालन गरिने उहाले बताउनुभयो । टोलीले डेंगु रहन सक्ने विशेष ठाउँमा निगरानी गर्ने छ ।
डेंगु रोग एडिज इजीप्टाई जातको पोथी लमखुट्टेको टोकाईबाट लाग्ने गर्दछ । यो रोगको संक्रमित स्थान वाागंगा नगरपालिकाका वडा नं. १, २ र ४ हुन । गत बर्ष यी वडाका चार जनामा डेंगु रोगी फेला परेका थिए । लुम्बिनी अञ्चल अस्पतालमा यी रोगी भेटिएको स्वास्थ्यकर्मी बताउछन । अरु अस्पतालमा पनि रोगी भेटिएको हुन सक्ने अनुमान छ ।

प्रकाशित मिति : १३ आश्विन २०७५ शनिबार ००:००  २ : ०८ बजे