३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

प्रदेशको नाम र राजधानीमा किचलो शुरु



काठमाण्डौं ।
प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ । राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्। मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यसँग छुट्टाछुट्टै अनौपचारिक बैठक राखेर छलफल तीव्र पारेका छन ।
बृहत विराटनगरको अवधारणा बजेटले नै ल्याएको भन्दै सोहीअनुसार प्रदेशको राजधानी मोरङ र सुनसरीमा हुनुपर्ने एकथरीको तर्क छ। अर्काथरीको तर्क भने कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै स्थानमा राख्न नहुने भन्ने छ।
प्रदेशका मन्त्रालय, विभाग, व्यवस्थापिका, कार्यपालिकालगायत महत्वपूर्ण संरचना भिन्नाभिन्नै जिल्लामा राख्दा व्यावहारिक समस्या निम्तिने उनीहरूको धारणा छ ।
सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन एउटै कम्पाउन्डभित्र कार्यालय राखेर सेवा दिनु उपयुक्त हुने प्रदेश सांसद विमल कार्की बताउँछन ।

प्रकाशित मिति : १४ आश्विन २०७५ आइतबार ००:००  ३ : ४४ बजे