१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मेरो कार्यकाल भित्र नगरकै सुन्दर वडा बनाउँछु : वडा अध्यक्ष गिरी



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ को विकास निर्माणको काम तीव्र गतिमा भैरहेको छ । वडामा गत आवमा के कस्ता विकास निर्माणका कामहरु भए र आगामी आवमा के कस्ता विकास निर्माणका काम गर्ने योजना छ । यी लगायतका समसमायिक विषयबस्तुमा मायादेवी अनलाइनका लागि सम्पादक दिपक अनुरागीले वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरी संग अन्तर्रवाता लिनुभएको छ ।

तपाइको एक वर्षे कार्यकाल बितेको छ, यो बीचमा कस्तो अनुभव गर्नु भएको छ ?
पहिलो वर्ष अत्यन्तै उत्साहवर्धक र सफल भएको महशुस गरेको छु । निर्वाचनका बेला हामीले बोलेका कुरा र जनता सामु गरेका प्रतिवद्धता पक्कै पनि पुरा हुन्छ भन्ने विश्वास जनतामा जागृत भएको छ । यसका धेरै कारण र उदाहरण छन् । म निर्वाचित भइसके पछि एक वर्षको अन्तरालमा वडामा विकास निर्माणका थुप्रै कामहरु भएका छन् ।
गत आ.व. मा तपाइले वडामा के कस्ता कामहरु गर्नु भयो र जनतामा विश्वास जागेको छ भन्नु भयो ?

म निर्वाचित भै सकेपछि पहिलो वर्षमै वडामा नगरपालिकाबाट १ करोड ९० लाख बजेट पारी २८ वटा विकास निर्माणका योजनाहरु संचालन गरियो । ती योजनाहरु नगरमै छिटो छरितो रुपमा सम्पन्न भयो । १० वटा टोलका सांघुरा बाटाहरु विस्तार गरी ९ मिटरको दरले फराकिलो पारियो । यो नगरकै नमुना कार्य भएको छ । करिव २१ सय मिटर बाटो कालोपत्रे गरियो भने ५६०० मिटर बाटो ग्राभेल, ग्रेडिङ, रोलिङ्ग गर्ने र बाटोको दुवैतिर नाली निकाल्ने काम गरियो । त्यस्तै ४०० मिटर सिंचाइको नहर निर्माण विस्तार, ३ वडा कल्भर्ट निर्माण, ठाँउठाँउमा ह्युम पाइप जडान, सामुदायिक भवन, प्रतिक्षालय, विद्यालय भवन, कम्पाउण्डवाल, शौचालय निर्माण, र्ममत संभार रंग रोगन गरियो । वडा कार्यालयलाई पायक पर्ने ठाँउवाट संचालन र व्यवस्थापन गरियो । लक्षित वर्गका कार्यक्रमहरु व्यवस्थित रुपमा संचालन गरियो ।
यसका साथै नगरपालिकाबाट हरेक विकास निर्माण र सरसफाई सम्बन्धि टोल विकास संस्थालाई तालिमको थालनी गर्ने काम पनि यसै वडावाट भयो । सार्वजनिक सुनुवाई पनि यसै ७ न. वडा मै भयो भने वाणगंगा नगरपालिकाकाको तेस्रो गरिमामय नगरसभा एवं अधिवेशन सम्पन्न गर्ने अवसर पनि यसै वडाले प्राप्त गर्यो । यी सवै काम र क्रियाकलापले जनतामा विश्वास र उर्जा पैदा भएको छ ।
तपाईले भने जस्तै गत वर्षमा यी सवै कामहरु गर्न कसरी सम्भव भयो ?

पहिलो त ठूला कुरा आफुमा इच्छा शक्ति र दृढ विश्वास हुनुपर्छ । त्यो कुरा म मा छ । समाज परिवर्तनको लागि केही गरेर देखाउनु पर्छ भन्ने भावना बोकेर हिडेको छु र त्यही अनुसार काम पनि गरेको छु । दोस्रो कुरा वडाका जनप्रतिनिधी साथीहरुको कामको बांडफाड, तेस्रो कुरा वडाका हरेक अगुवा साथीहरुको सहयोग, चौथो कुरा जनताको विश्वास र साथ पांचौ कुरा नगरपालिका संगको समन्वय सम्बन्ध । यी सवै कारणले काम गर्न सम्भव भएको हो ।
चालु आ.व.मा वडाले कस्तो विकास गर्ने लक्ष्य लिएको छ ?

गत वर्ष विकास गर्दाको ज्ञान, सीप र अनुभवलाई आत्म साथ गर्दै अघि बढ्ने, वडाका समग्र भौतिक पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिने, आर्थिक विकास, सामाजिक विकास एवं लक्षित वर्गका कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्ने, वन वातावरण विकासलाई पनि जोड दिने र स्थानीय शुसासन कायम राख्ने गरी विकास गर्ने र जनतालाई सांच्चिकै विकासको अनुभुति गराउने लक्ष्य छ ।
तपाइले भनेका विकास सम्पन्न होलान् ?

निश्चित रुपमा सहि योजना बनाई हामी कार्यन्वयन गर्छौ । हामी संग अघिल्लो वर्षको सफलताको अनुभव पनि छ । असम्भव भन्ने दुनियाँमा केही छैन । सबै काम गरेरै भएका हुन् । हामी सम्पन्न गर्छौ, सफल हुन्छौ, सवैलाई विश्वास दिलाउन चाहन्छौ ।
विकास निर्माणमा जनसहभागिता कसरी बढाउने योजना बनाउनु भएको छ ?

वडा सदस्यहरुलाई क्षेत्रगत कामको वांडफांड गर्ने, वडा भित्रका सवै टोलबिकास संस्थाहरुलाई परिचालित गर्ने, कामको जिम्मा दिने, टोल भेलाहरु गराउने, आवश्यकता अनुसार उपभोक्ता समितीहरु निर्माण गर्ने, वडा समिती र टोल विकास संस्थाले संयुक्त रुपमा तय गरेको वडालाई सुन्दर, रमणीय र विकसित बनाउने हाम्रो अभियान, ७ नं. वडा नगरकै सान, भन्ने आर्दश वाक्यलाई कार्यान्वयन गर्न बनाइएको वडामा सेवा प्रवाहका लागि गरिएको सिफारिस नामको पत्रलाई कडाईका साथ लागु गर्ने योजना छ ।
चालु आ.व.का योजनाहरु के के छन् ?

चालु आ.व.०७५÷०७६ मा यस वडालाई १ करोड २७ लाख ७७ हजार विनियोजन गरिएको छ । जसमा मुख्य योजना सडक नै हो । मुल सडकहरु कालोपत्रे गर्ने, शाखा बाटोहरु विस्तार गर्ने, हेल्थपोष्ट स्थापना गर्ने, अधुरो सामुदायिक भवन सम्पन्न गर्ने, लक्ष्मणघाट सबदहन स्थल व्यवस्थापन गर्ने, कोइली पुल पश्चिम खारखानेमा रिसोर्ट र पिकनिक स्पोर्ट बनाउने काम आरम्भ गर्ने, आवश्यकता अनुसार विद्युत ट्रान्सफर्मर, पोल र तार उपलव्ध गराउने, बीच बाटोमा परेका विद्युत पोलहरु सार्ने, सडक छेउ नालीहरु वनाउने, कलभर्ट निर्माण गर्ने, ठांउ ठांउमा ह्यूम पाईपहरु विछाउने, आर्थिक सामाजिक विकास र लक्षित वर्गका कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्ने, वडा भित्रका २ वटा सामुदायिक विद्यालयका करिव ६०० विद्यार्थीलाई विद्यालयको लोगो सहितको सुईटर र टिसट वितरण गर्ने अनि सरसफाई अभियानलाई निरन्तरता दिने योजना छ ।
अन्तिममा केही भन्नु छ कि ?

वाणगंगा न.पा.वडा न. ७ को समग्र पक्षको विकास गर्ने जिम्मा जनताले हामीलाई सुम्पिनु भएको छ । त्यो अभिभारा पुरा गर्न हामी लागि परेका छौं तसर्थ वडाले जारी गरेको निती नियमलाई पालना गर्नु र विकास निर्माणमा साथ सहयोग दिन सवैमा अपिल गर्दछु । हामी यस वडालाई सुन्दर रमणीय र विकसित वनाउँन प्रतिवद्ध छौंं त्यो दिन सबैले देख्न पाउनु हुनेछ धैर्य गर्नुहोस भन्न चाहन्छु ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १ : ३१ बजे