२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

खानेपानीको मुहान सुक्दा कपिलवस्तुका दर्जनौँ गाउँ काकाकुल



भुपाल थापा, कपिलवस्तु ।

भूमिगत पानीको मुहान सुकेपछि कपिलवस्तुका दर्जनौँ गाउबस्तीमा पानीको हाहाकार भएको छ  । चुरेको अनियन्त्रित उत्खनन तथा अत्यधिक दोहनले जिल्लाका अधिकांश स्थानमा रहेका भूमिगत जलका स्रोतहरू सुक्न थालेपछि खानेपानीको समस्या भएको हो  ।

पछिल्लो समय चुरे क्षेत्रसँग जोडिएको जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र कपिलवस्तु नगरपालिकाका विभिन्न स्थानमा समस्या देखिएको हो । सो क्षेत्रका एक दर्जनभन्दा बढी गाउँबस्तीका ६०० घरधुरीका परिवारलाई खानेपानीको अभाव देखिएको छ ।

जिल्लाको बाणगंगा नगरपालिकाको कोपवा, सुठौली, भगलापुर र सोही नगरपालिकाको मोतिपुर, भलवाड, जिनुवा लगायतका स्थानमा रहेका भूमिगत जलका स्रोतका रूपमा रहेका धारा र आर्टिजन बोरिङ सुक्ने क्रम बढेको छ । बाणगंगा, बुद्धभूमि र कपिलवस्तु नगरपालिकाको सिमानामा रहेको बाणगंगा नदीमा पानीकोे मात्रा घटेको र अर्टिजन बोरिङका कारण पानीका मुहान धारा, नल सुकेका छन् ।

बाणगंगा नगरपालिका–५ कोपवाको मनरापुरमा १० वर्षअघि बाह्रैमास आउने गरेको आर्टिजन बोरिङ सुकेको स्थानीय बलराम घिमिरेले बताउनुभयो । जिल्लाको बुद्धभूमि नगरपालिका–१० पिपरहवामा रहेको तिलौराकोट इँटा उद्योग (सोनी) इँटा उद्योग नजिक लगाइएको अर्टिजन बोरका कारणले एक सय बढी ह्याण्ड पम्प सुकेका छन् ।

गत शनिबारदेखि देखिएको यो समस्याले  देउपुरा, लोहरौला, गजरैया, पोखरहवा, झलवा र नयाँ बस्तीका करिब २०० घरधुरीका मानिस पीडित बनेका छन् । अहिले सबै ह्याण्डपम्प सुकेर पानी आउन छोडेको छ। गत वर्ष पनि यस्तै समस्या देखिएपछि गाउँलेहरुले विरोध जनाएका थिए ।

पानी नहुँदा गाउँमा सय हेक्टर बढीमा लगाएको तरकारी बाली सुक्न थालेको छ । जिल्लाकै तरकारीको नमुना पकेट क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पानीको अभाव भएपछि कृषकहरू चिन्तित छन् । यता डिप बोरिङले समस्या नपारेको तिलौराकोट इँटा उद्योग (सोनी ईटा)का सञ्चालक महबुव मियाँले बताउनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०७५ शुक्रबार ००:००  १२ : ५० बजे