११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन सक्दैन : मन्त्री यादव



बुटवल ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।

रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा हिजो उहाँले निजी क्षेत्र पनि कानूनसम्मत ढङ्गले अघि बढेको अवस्थामा सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री यादवले उद्योगी तथा व्यवसायीलाई नाफाको विषय मात्रै केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै देशको समृद्धिलाई ध्यान दिएर पनि प्रतिफल पाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले प्रभावकारी काम गरिरहेको छ र जनताको विश्वास टुुट्न दिदैनौँ ।” जनताले वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न आदेश दिएको उल्लेख गर्दै मन्त्री यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ५ का आन्तरिक कानून मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ मा उद्योग सञ्चालनको वातावरण बनेको बताउनुभयो । नेपाल उद्योग परिसरका अध्यक्ष हरिभक्त शर्माले कुनै पनि उद्योगलाई सरकारले अपहेलित गर्न नहुने भन्दै प्रदेश नं ५ मा उद्योगका सम्भावना सँगै चुनौती पनि रहेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलम, सङ्घका अध्यक्ष गणेश अधिकारी लगायतले उद्योगीका लागि लगानीको वातावरण बनाउन आग्रह गर्नुभएको थियो । (रासस)

प्रकाशित मिति : २१ आश्विन २०७५ आइतबार ००:००  १ : २४ बजे