१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकार दर्जीको चरित्र हत्या भएको छानविन समितिको ठहर (समितिको प्रतिवेदन सहित)



मायादेवी अनलाइन ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार र चन्द्रौटाका एक व्यवसायीसंग जोडिएको घटनाबारे छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य पत्रकार चिन्ता परियार तथा चन्द्रौटाका व्यवसायी विजय जैसवाल र अस्पतालसंग जोडिएको घटना सम्बन्धमा छानविन गर्न शाखाले शुक्रबार ३ सदस्यीय छानबीन समिति गठन गरेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीको संयोजकत्वमा गठित छानविन समितिमा प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव तथा शाखा अध्यक्ष डिलाराम भुसाल रहेका थिए । गठित समितिले उक्त प्रकरणमा संलग्न पत्रकार चिन्ता बहादुर दर्जी, व्यवसायी विजय जैसवाल र अस्पतालका संचालक अब्दुुल अलिमसंग छुट्टाछुट्टै भेटघाट गरी सोधपुछ गरेको थियो । छानविन समितिका संयोजक केन्द्रिय सदस्य बसन्त गिरीका अनुसार आश्विन २६ गते शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने विजय जैसवालले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल पत्रकार महासंघका सदस्य तथा दर्शन न्यूज र मेरो साथी एफएमका व्यवस्थापक चिन्ता बहादुर दर्जी परियारले शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा हस्पिटल प्रा.लि.का संचालक मायादेवी गाउँपालिका वडा नंं ९ बस्ने अब्दुल अलिम संग समाचार प्रकाशन बारे रकम बार्गेनिङ गरेको म्यासेन्जर च्याट सहित प्रेषित गरेपश्चात छानबीन शुरु गरेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले उक्त घटनाको सम्बन्धमा विज्ञप्ती जारी गरेको छ । पत्रकार चिन्ता बहादुर दर्जी तथा विजय जैसवाल बिच विगत लामो समयदेखिको व्यक्तिगत द्धन्द्ध र सोही द्धन्द्धका कारण पत्रकारको चरित्र हत्या गर्ने उद्धेश्यले गरिएको किर्ते फेसबुक विवरणको महासंघले आपत्ती प्रकट गरेको छ । उक्त घटनाबाट पत्रकार दर्जीको सामाजिक, मानसिक पीडाप्रति महासंघ दुख व्यक्त गर्दै किर्ते विवरण सामाजिक संजालमा पोष्ट गर्ने विजय जैसवाललाई विद्युतिय अपराध ऐन अनुसार हदै सम्मको कारवाहीका लागि शाखाले सम्बन्धित निकाय संग जोडदार माग गर्दछ, विज्ञप्तीमा भनिएको छ, पत्रकारका विषयमा सामाजिक संजालमा केहि दिन यता भइरहेको उछ्रङ्खल र असभ्य टिका टिप्पणी तथा आरोप प्रति महासंघ गम्भीर बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताले आवश्यक प्रमाण तथा आधार बिना लगाइने आरोप तथा टिकाटिप्पणी प्रति नसच्चिए कानूनी उपचार खोज्न महासंघ बाध्य हुने नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तो छ छानविन समितिको प्रतिवेदनको सारांश 

उक्त प्रतिवेदन अनुसार समितिले गरेको प्रत्यक्ष सोधपुछ तथा जानकारीका क्रममा विजय जैसवालले आफ्नो फेसबुक वालमा पोष्ट गरेको च्याट अस्पताल संचालकबाट आएको भन्ने बयान दिएको तर कहाँबाट आयो भन्नेबारे मोबाइलमा देखाउन नमानेको, अस्पताल संचालक अब्दुल अलिमले अस्पताल दर्ता नभएको स्वीकारेको, आफुले फेसबुक नचलाउने बयान दिएको, दर्जीसंग प्रत्यक्ष भेटमा विज्ञापनबारे कुराकानी भएपनि फेसबुक च्याटमा कुनै कुराकानी नभएको र अर्कै व्यक्ति (भारतीय) तनविरसंग कुराकानी गरेको तर के कुराकानी भयो यसबारे थाहा नभएको, २ दिन सम्म अलिमले तनविर भन्ने व्यक्तिलाई सम्पर्क नगराएको तथा पत्रकार दर्जीको फेसबुक र म्यासेन्जरमा अलिम, तनविर तथा विजय जैसवालसंग कुनै कुराकानी नभएको भेटिएको हुदा विजय जैसवालले फेसबुक वालमा प्रेषित गरेको उक्त म्यासेन्जर च्याट किर्ते भएको छानबिन समितिको ठहर छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ३ : ०१ बजे