१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नवरात्रको छैटौं दिन सोमबार, शक्तिपीठहरुमा कात्यायनीको पूजा आराधना गरिँदै



मायादेवी अनलाइन ।
नवरात्रको छैटौं दिन आज नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप छैटौं रूप कात्यायनीको पूजा–आराधना गर्ने परम्परा रहेको छ।

कात्यायनीको उत्पत्तिबारे पुराणमा यस्तो कथन पाइन्छ, कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्। यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ। नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ। यो समयमा देवीभागवत तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ।

यसरी दशैँका ९ दिनसम्म बिभिन्न देवीदेवतालाई पुजेर कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १२ : ३६ बजे