११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

विकासमा सबैको सहकार्य हुन जरुरी : सांसद कमाल



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली कांग्रेका प्रतिनिधिसभा सदस्य अतहर कमालले मुलुकको सामाजिक, शैक्षिक र आर्थिक परिवर्तनमा सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । उहाँले मुलुकलाई आर्थिक समृद्धि र विकासको चरणमा लैजानको लागि अब सवै राजनैतिक दलहरु एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।
वाणगंगा ४ जितपुरमा रहेको रेडियो हर्टविटको पहिलो बार्षिकोत्सव तथा दशैँ विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका सांसद कमालले मुलुकलाई द्धन्द्धबाट शान्ति प्रकृयामा ल्याउनको लागि जसरी राजनैतिक दलमा एकता भयो त्यसरी नै यो देशको विकासको लागि सबै राजनैतिक राजनैतिक दल एक हुनुपर्ने बताउनुभयो ।
सांसद कमालले मुलुकका ठुलाठुला परिवर्तनमा संचार माध्यमको भूमिका अहम् भएको बताउँदै संचारमाध्यम थप जिम्मेवार बन्नु पर्ने बताउनुभयो । राणा शाषन, पञ्चायती व्यवस्था, राजसंस्थाको अन्त्य भई मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गण तन्त्र आउनुमा संचार माध्यमको भूमिका अहम् भएको भन्दै उहाँलेसंचारको विकास विना संसारका कुनै पनि देशले विकास गर्न नसक्ने बताउनुभयो । ‘हिजोको दिनमा जनताले आफ्नो कुरा राख्न सक्दैनथे, अधिकार प्रयोग गर्न सक्दैनथे तर आज जनताले खुल्ला रुपमा आफ्ना अधिकार राख्न सफल भएका छन्, सूचनाको अधिकार भरपुर प्रयोग गर्न पाएका छन् यो सबै देन मिडियाको हो उहाँले भन्नुभयो ।’
कार्यक्रममा नेकपाका नेता बाबुराम आचार्यले संचार माध्यम पार्दशी हुनु पर्ने बताउदै हर्टविट एफ.एमले प्रशारण गरेका सामाग्री जनताले रुचाएको भन्दै प्रसंसा गर्नु भयो । रेडियोका अध्यक्ष कृष्ण भट्टराइले एक बर्षको अवधिमा रेडियोले धेरै श्रोताको मन जित्न सफल भएकोमा कर्मचारी र संचालक, विज्ञापनदाता, श्रोता सबैलाई धन्यबाद दिनुभयो ।
रेडियोका स्टेसन म्यानेजर ओम प्रकाश पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा प्याव्सनका वाणगंगा नगर अध्यक्ष रोमाकान्त घिमिरे, हिलवर्ट बोर्डिङका सुरेन्द्र पाण्डे, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्दै संचार माध्यमले कुनै पूर्वाग्रह बिना सूचना र समाचार प्रशारण गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थालाई व्यावसायिक रुपमा सहयोग गर्ने विज्ञापनदातालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  १ : २२ बजे