५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तुका सासंदकै गुटखा उद्योगद्धारा राजस्व छली !



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुका एक प्रदेश सांसदको उद्योगले राजस्व छली गरेको छ । कपिलवस्तु क्षेत्र नं. ३ ख बाट निर्वाचित कांग्रेस सांसद विरेन्द्र कनौडियाको कृष्णनगर नगरपालिका ८ स्थित विजार्ड फेग्नेन्स उद्योगले राजस्व छली गरेको भेटिएको हो ।

उद्योगबाट उत्पादित शुद्धप्लस गुटखामा अन्तशुल्क स्टिकर नलगाई धमाधम बजारमा विक्री गरिरहेको छ । चन्द्रौटा बजारमा अन्तशुल्क स्टिकर नलगाईएका गुटखा बेच्दै गरेको अवस्थामा स्थानीय पत्रकार दिपक खडकाले सोधखोज गर्दा विक्रेताहरुले गुटखाको बोरा छाडेर भागेका थिए । लगत्तै पत्रकार खड्काले वडा प्रहरी कार्यालय चन्द्रौटालाई खबर गरेको जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले अन्तशुल्क स्टिकर नभएका २ सय १९ पोका शुद्धप्लस गुटखा बरामद गरेको छ । करिब ३६ हजार मुल्य बराबरको उक्त गुटखाले राजस्व छली गरेको प्रष्ट भएको र यस बारे थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय बुटवलमा पठाउने जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरिक्षक रबी रावलले जानकारी दिनुभयो । उक्त उद्योग कांग्रेस सांसद विरेन्द्र कनौडियाको लगानीमा भाई महेन्द्र कनौडियाको नाममा संचालित छ ।

पटक–पटक राजस्व छलीको आरोप तथा छापा हानिएपनि उद्योग प्रशासनलाई अहिले सम्म कुनै कारवाही भने गरिएको छैन । नेपालमै सबै भन्दा बढि विक्री हुने शुद्धप्लस गुटखाले मासिक १४ करोड बढि राजस्व छली गर्ने गरेको उद्योगकै पूर्व कर्मचारीको दाबी छ ।

राजधानी तथा ठूला शहर बाहेक ग्रामिण भेग तथा पहाडी जिल्लामा विक्री गरिने वस्तुमा अन्तशुल्क स्टिकर प्रयोग नगरिने उनको भनाई छ । जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालयले दर्जनौ पटक छानबिन तथा छापा हान्दा समेत उद्योगलाई सामान्य जरिवाना बाहेक कुनै कारवाही नभएको उनी बताउछन् ।

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १२ : २९ बजे