५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रदेश ५ को खेलकुदले ठुलो फड्को मार्छ : मन्त्री चौधरी



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
भौतिक पूर्वाधारमन्त्री वैजनाथ चौधरीले खेलकुदको विकासको लागि प्रदेश नम्बर ५ ले एक करोडसम्म बजेट विनियोजन गरेको बताउनु भएको छ ।
सनराइज सामाजिक विकास मञ्च बाणगंगा ८ बोडगाउँको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय खुल्ला नकआउट प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशका बिभिन्न जिल्लामा खेलकुदको भौतिक पूर्वाधार विकास गर्नको लागि प्रदेश सरकारले ७५ लाख देखि एक करोडसम्म बजेट विनियोजन गरेको बताउनु भएको हो ।
विगतको केन्द्र सरकारले खेलकुदको विकासको लागि जुन अनुपातमा बजेट विनियोजन गर्नु पर्ने हो त्यो अनुसार गर्न नसकेको भन्दै यस पटक प्रदेश सरकारले त्यसमा उदारता देखाएको बताउनुभयो । मन्त्री चौधरीले अब प्रदेश ५ ले खेलकुदमा ठुलो फड्को मार्ने दाबी गर्नुभयो ।
प्रदेशको विकासमा पर्यटन प्रवद्र्धन र कृषिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि चौधरीले यसको विकासको लागि प्रदेश सरकारले बजेट विनियोजन गर्न कुनै कन्जुस्याई नगरेको प्रष्ट पार्नुभयो ।
प्रदेश सांसद विष्णु पन्थीले प्रदेशले गर्ने कार्य सनराइज सामाजिक मञ्चले गरेको भन्दै प्रसंसा गर्नु भयो । उहाँले खेलले राष्ट्र र समाजलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउने भन्दै यसमा प्रदेशले पनि बढी चासो दिनुपर्ने बताउनुभयो ।
बाणगंगा नगरका उपमेयर चक्र अर्यालले खेलकुदलाई प्राथमिकतामा राख्न सके जिल्लाले छिटो फड्को मानर्ने बताउनुभयो । उहाँले स्थानीय तहले पनि खेलकुदलाई कहिल्यै ओझेलमा पार्ने गरी काम नगर्ने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका अध्यक्ष छवि रेश्मीले मुलुकमै खेलकुदको लागि प्रदेश ५ मा प्रशष्त भौतिक पूर्वाधार रहेको भन्दै यसमा प्रदेश र केन्द्र सरकारले पनि खर्च गर्न सक्नु पर्ने बताउनु भयो । प्रदेश पाँच मध्ये कपिलवस्तु खेलकुदको हब भएको भन्दै अब राष्ट्रिय खेलकुद पनि जिल्लामै गर्न सकिने बताउनुभयो ।
खेलकुद संयोजक माधव पौडेलको स्वागत मन्त्व्य, सनराइज सामाजिक विकास मञ्चका अध्यक्ष टेकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बिभिन्न वडाका वडाध्यक्ष तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपिस्थति रहेको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७५ बिहिबार ००:००  ४ : ३६ बजे