२५ असार २०८२, बुधबार | Thu Jul 10 2025

स्वदेशमै चर्चा कमाउँदै युवा व्यवसायी दाहाल



सीताराम चौधरी, चन्द्रौटा ।

देवराज दाहाल, सफलतातर्फ उन्मुख युवा व्यवसायी हुनुहुन्छ । कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा रहेर व्यवसाय गर्दै आउनुभएका उहाँ सफल युवा व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।

अवसर यत्रतत्र छ, तर चिन्न सक्नु पर्दछ भनिन्छ । सही अवसरलाई चिन्न सकियो भने सफलताको यात्रा प्रारम्भ हुन्छ । फल पनि सिजन अनुसार फस्टाउने हुन्छ, सिजन पहिचान गरी लगनशिल भई कार्य गरे आफूले साेंचे अनुसारको फल प्राप्त गर्न सकिन्छ । सफलता हासिल गर्न समयको माग, इच्छाशक्ति, अनुभव, मिहिनेत साथै लगानी हुन आवश्यक छ । दाहालले पनि समयको मागलाई पहिचान गर्नुभयो र त्यसैमा लाग्ने निर्णय गर्नुभयो ।

अध्ययनपछि जागिरे जीवनबाट अनुभव सँगाल्दै उहाँ अहिले एक उद्योगपति बन्न सफल युवा व्यवसायी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ –“तन, मन र धन भए मानिसलाई कहिल्यै पछि पर्नुपर्दैन ।” लामो संघर्षबाट अनुभव बटुलेर यहाँसम्म आइपुग्नुभएका दाहाल आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । हरेकसँग सजिलै घुलमिल हुनसक्ने उहाँको बानी छ । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएका दाहाल जिज्ञासु, निडर, लगनशील, जोसिला र फूर्तिला पनि हुनुहुन्छ । सधैं नयाँ नयाँ योजना बुन्न रुचाउने उहाँमा खुबी छ । आफ्नो व्यवसायसँगै उहाँले निकट भविष्यमा अन्य व्यवसाय संचालन गर्र्ने योजना समेत बुनेको बताउनुहुन्छ ।

अध्ययन सकेर कामको खोजीमा भौतारिंदै उहाँ एक उद्योगमा झण्डै दशक काम गरेको बताउनुहुन्छ । त्यहाँबाट निकै अनुभव बटुल्न सक्षम हुनुभयो र उहाँमा आफै व्यवसाय गर्ने उर्जा थपियो । त्यस पश्चात उहाँले एकल लगानीमा शिवराज नगरपालिका ८, जवाभारीस्थित वृद्धि डिष्टिलरी प्रा.लि. नै खरीद गरी अहिले उद्योगपतिको रुपमा परिचित हुनुभएको छ । एउटा म्यानेजरको जागिरबाट अनुभव बटुलेर उहाँ फैक्ट्रीकै एक्लो संचालक बन्न सफल हुनुभएको छ । जहाँ विभिन्न ब्राण्डका गुणस्तरीय मदिरा उत्पादन हुने गर्दछ ।

आफ्नै व्यवसाय सन्चालन गरेर स्थानीय युवा युवतीहरुलाई रोजगारी दिने उहाँको इच्छा थोरै भए पनि पूरा भएको छ । उहाँले ४५ जनालाई रोजगारी समेत दिनुभएको छ । तर उहाँलाई आफ्नै व्यवसायमा भ्याईनभ्याई छ । आफू पनि यस्तै व्यवसायबाट प्रगति पथमा अगाडि बढेकाले अन्य कामदार सरह सधैं काममा व्यस्त रहन रुचाउनुहुन्छ उहाँ । कामदारहरुकै परिश्रम र मिहिनेतले आफ्नो व्यवसाय फस्टाएको उहाँको बुझाई छ । उहाँ कामदारलाई अन्नदाता सम्झनुहुन्छ । आफू सफल हुनुमा उहाँ कामदारहरुलाई श्रेय दिनुहुन्छ ।

विदेशिने युवाहरुलाई चुनौति दिँदै उहाँ यतिबेला स्वदेशमै उदाहरणीय बन्नुभएको छ । आफ्नै व्यवसायबाट मासिक सरदर डेढ करोड सम्मको कारोबार हुने गरेको उहाँको भनाई छ । “मिहिनेत गरे धन कमाउनकै लागि विदेश धाउनु पर्दैन” –उहाँ भन्नुहुन्छ । यतिबेला उहाँ नयाँ व्यवसायको योजनामा लागेको सुनाउनुभयो । दुग्ध प्रशोधन केन्द्र र तेलको उत्पादन अहिलेको माग रहेको उहाँको बुझाई छ । अहिले उहाँ सोही विषयमा अध्ययन, अनुसन्धान गरी योजनाको तयारीमा रहेको बताउनुहुन्छ ।

स्थायी घर बाग्मती अञ्चलको बनेपा ११, धनेशवर काभ्रेपलाञ्चोक भएपनि विगत आधा दशकदेखि उहाँ कपिलवस्तुमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । वि.सं. २०७२ मा उहाँ शाहबाट खरीद गरी शिवराज नगरपालिका ८, जवाभारीस्थित एक उद्योग आफ्नो निजी बनाउनुभएका छ । यसलाई आधुनिकीकरण गर्दै लैजाने र अन्य व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ ।

च्यासिङखर्क गाविस ३, हाल बेथानचोक जन्मनुभएका देवराजले एस.एल.सी.सम्मको अध्ययन जन्मथलोमै पूरा गर्नुभएको हो । उच्च शिक्षा भने उहाँले हालको स्थायी ठेगानामा पूरा गरेको बताउनुहुन्छ । सामाजिक क्षेत्रमा पनि सधैं चासो दिने दाहाल २०६७ सालदेखि हिमाल बचत तथा ऋण सहकारी संस्था बनेपाको अध्यक्ष समेत रहँदै आउनुभएको छ । यसबाहेक उहाँ विभिन्न संघ संस्थामा आबद्ध भई सामाजिक कार्यमा पहिचान बनाउनुभएको छ । देवराज दाहालको परिवारमा एक श्रीमती, १३ वर्षीय एक छोरा र ७ वर्षीय एक छोरी छन् । बुवाआमा पनि हुनुहुन्छ तर भाइसँग बस्नुभएको छ – उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : ४९ बजे